नेदरल्यान्ड्ससँग नेपाल ८ विकेटले पराजित
काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा आयोजित त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग आठ विकेटले पराजित भएको छ। योसँगै नेपालले घरमै भएको शृंखलाका चारमध्ये तीन खेलमा हारको खराब नतिजा आत्मसात् गरेको छ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १७३ रनको लक्ष्य डच टिमले ३७.५ ओभरमा दुई विकेट गुमाएर भेट्टायो। नेदरल्यान्ड्सको जितमा विक्रमजित सिंहले अविजित ५८ रन बनाए। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा छैटौँ अर्धशतक बनाएका सिंहले ९२ बलमा सात चौका प्रहार गरे।
७१–२ को अवस्थाबाट विक्रमजितले तेस्रो विकेटका निम्ति साइब्रान्ड एन्जेलब्रेटसँग १०२ रनको शतकीय साझेदारी गर्दै नेदरल्यान्ड्सलाई जितसम्म पुर्याएका थिए। सिंहसँगै अविजित रहेका एन्जेलब्रेटले ७५ बलमा तीन चौकासहित ४६ रन जोडे।