रुसी सेनामा भर्ती भएका परिवारसँग किन रिसाए परराष्ट्रमन्त्री
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद रुसी सेनामा काम गर्दा ज्यान गुमाएका र घाइते भएका नेपालीका आफन्तसँग रिसाएका छन्। मृतक परिवारलाई राहत,घाइतेको उपचार र वेपत्ताको अवस्था सार्वजनिक गर्न माग गर्दै मंगलबार परराष्ट्र मन्त्रालयमा पुगेका पीडित परिवार र आफन्तसँग मन्त्री साउदले घटना सञ्चार माध्यममा सार्वजनिक गरेको भन्दै रिसाएका हुन्।
रुसी सेनामा ज्यान गुमाएका र घाइते भएका पीडित परिवारका सदस्यलाई लिएर परराष्ट्र मन्त्रालय पुगेकी कृतु भण्डारीका अनुसार मन्त्री साउदले पीडित परिवारले सञ्चार माध्यममा बोलेको विषयमा आपत्ति जनाएका थिए।
‘हामी मन्त्री समक्ष मृतक परिवारलाई राहत, घाइतेलाई उपचार र वेपत्ताको अवस्था सार्वजनिक तथा रुस सेनामा गएकाहरुलाइ उद्धार गरिदिन भनेर मागहरु राख्न गएका थियौं,उनले भनिन्, ‘तर मन्त्रीज्यूले पीडित परिवारका मागहरु सुन्ने भन्दा पनि उल्टै मिडियामा किन गएको र परिवारहरु संगठित किन भएको भनेर आक्रोश पोख्नुभयो।
रुसी सेनामा गएर वेपत्ता, घाइते र मृत्यु भएका गरी ३१ जना नेपालीको परिवारका सदस्य मन्त्रीसँग छलफलका लागि पुगेका थिए। मन्त्री साउदले पीडित परिवारले राखेका मागका विषयमा छलफल गर्नुभन्दा पीडित परिवारमाथि नै खनिएको भण्डारीले सुनाइन्।
‘तपाईंहरु मनलाग्दी विवरणहरु सार्वजनिक गर्ने र मिडियाबाजी गर्ने भन्दै मन्त्रीज्यूले छलफल अवधिभर परिवारहरु माथि आक्रोश पोखिराख्नु भयो’, उनले भनिन्।
गत शनिबार पीडित परिवार तथा नागरिकको जीवन रक्षाका लागि सचेतना अभियानले हालसम्म रुसी सेनामा गएका र परिवारको सम्पर्कमा रहेकाहरुको विवरणका आधारमा मृतक र भर्ती हुनेको अनौपचारिक तथ्यांक पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका थिए। सोही विषयलाई मन्त्रीले पीडित परिवारसँग आक्रोश पोखेका भण्डारीको भनाइ छ।
छलफलमा रुसी सेनाका कार्यरत रहेर मृत्यु भएका, घाइते, बेपत्ता र उद्धारको पर्खाइमा रहेका नेपालीको परिवारका सदस्यले मन्त्रीसँग आफ्नो समस्या राखेका थिए।