व्यापार–व्यवसाय गर्ने नाममा अस्तव्यस्त बन्दै उपत्यका,स्थानीय बासिन्दाहरुले पनि अब चाँहि केही गर्ने कि ?
रुषा थापा
राजधानीको कालीमाटी र बल्खुमा तरकारी तथा फलफूल बजार छ। तीनकुने, धुम्बाराही लगायत उपत्यकाका विभिन्न ठाउँमा पनि तरकारी तथा फलफूल बजार छन्। कालीमाटी र बल्खुमा मुलुकभरका तरकारी तथा फलफूल आउँछन्।
भारतलगायत विभिन्न देशबाट पनि यहाँ तरकारी तथा फलफूल आउँछन्। कलंकी र टुकुचामा पनि खसी तथा तरकारी बजार उत्तिकै छन्। यस्ता बजारहरु व्यस्त ठाउँमा सञ्चालन गर्न दिइँदा एकातिर ट्राफिक जाम र दुर्घटनाको जोखिम बढेको छ,अर्कोतिर फोहोर बढेको छ। सहर अस्तव्यस्त बनेको छ।
कलंकी, कालीमाटी,बल्खुलगायत विभिन्न ठाउँका स्थानीयबासीहरु अहिले बजार हटाउनुपर्ने माग गर्दै वडा र नगरपालिकामा उजुरी दिइरहेका छन्। बजारका कारण आफुहरुले विभिन्न समस्या भोग्नुपर्ने र फोहोर पनि बढ्दै जाँदा स्वास्थ्यमा नकारात्मक असर परेको उनीहरु बताउँछन्।
तर, वडा कार्यालय, नगरपालिका वा महानगरपालिकाले भने बजार हटाउन चासो दिएका छैनन्। तरकारी तथा फलफूल बजारमा देशविदेशबाट तरकारी,फलफूललगायत विभिन्न सामान आउँछन्।
यसले उक्त क्षेत्रमा सर्वसाधारण घण्टौंसम्म ट्राफिक जाममा बस्नुपर्छ। सहरको बीचमा यस्तो व्यापार गर्न दिँदा सहरको सुन्दरतामा समेत गिरावट आएको छ।
यहाँ सबै राजनीतिक दलका कार्यकर्ताहरुले व्यापार गरेका छन्। पार्टीको आडमा व्यापार गरेर सर्वसाधारणलाई दुःख दिइरहेका छन् । सहर फोहोर बनाएका छन्। ट्राफिक जाम, प्रदूषण र दुर्घटना गराइरहेका छन्। उनीहरु आफु कमाउँछन् अनि दुःख, कष्ट चाँहि सर्वसाधारण जनताले भोग्नुपर्छ।
अहिले गाेंगबु र जडीबुटीका स्थानीयहरु पनि बसपार्क हटाउनुपर्ने माग गरिरहेका छन्। बसपार्कका लागि ट्राफिक जाम अस्तव्यस्त भएको, दुर्घटना निम्तिएको र आफुहरुले समेत विभिन्न समस्या भोग्नुपर्ने उनीहरुको भनाई छ। व्यापार र व्यवसायी गर्ने नाममा राजधानी अस्तव्यस्त बनिसकेको छ।
सीमित व्यक्ति, व्यापारीहरुले आफ्नो स्वार्थको बारेमा मात्र सोचिरहेका छन्। जनता अहिले पेट्रोल पम्प,ग्याँस डिम्पो,वर्क शप,अटो शोरुम, हार्डवेयर,डण्डी,सिमेन्टलगायत विभिन्न पसल तथा गोदामहरु उपत्यकाबाट हटाउनुपर्ने माग गरिरहेका छन्। त्यस्तै,दोहोरी साँझ,पार्टी प्यालेन्स, ड्राइभिङ सेन्टर पनि उपत्यकाबाट बाहिर सार्नुपर्नेमाग भइरहेको छ।
राजधानीलाई सुन्दर, स्वच्छ, सफासँगै ट्राफिक जाममुक्त बनाउन काठमाडौं महानगरपालिका र वडाहरुले यस्ता व्यवसायीहरु उपत्यकाबाहिर सार्नुपर्छ। नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय भवन (संसद भवन) अगाडि नै वरपर थुप्रै माछा पसल छन्।
त्यहाँ माछा ल्याउँदा ट्राफिक जाम हुने गरेको छ।अर्कोतर्फ माछाको पानी बाटैभरि फ्रयालिन्छ। र, गन्हाएर हिँड्ने हुदैंन। यद्यपि, यसतर्फ वडा वा महानगरले ध्यान भने गएको छैन।
सांसददेखि मन्त्री, प्रधानमन्त्रीसम्म हिँड्ने त्यो बाटोको हालत हेरिनसक्नु छ। ट्राफिक महाशाखा, वडा कार्यालय र महानगरले अब ट्राफिक जाम र दुर्घटना न्यूनीकरणका लागि कुन र कस्ता व्यवसाय उपत्यकाभित्र सञ्चालन गर्न दिने भनेर अध्ययन गर्नुपर्छ।
यस्तै,मिनपावर र कन्सलट्रेन्सीहरु पनि उपत्यकाबाट बाहिर सार्नुपर्छ। महानगरले पार्किङ नभएको घरलाई भाडामा दिन पनि रोक लगाउनुपर्छ।
अहिले घरधनीहरु डेराबहालसँग चर्को भाडा असुल्छन्। तर, पार्किङको व्यवस्थापन गर्दैनन्। यसले गर्दा अधिंकाशले आफ्नो सवारीसाधन बाटोमा पार्किङ गर्ने गरेका छन्।
बाटोमा सवारीसाधन पार्किङ गरिदिँदा एकातिर पैदलयात्रु मारमा परेका छन्,अर्कोतिर दुर्घटनाको जोखिम बढेको छ। त्यसकारण अब पार्किङ नभएको घरलाई कोठा वा घर भाडामा दिन पनि महानगरले रोक लगाउनुपर्छ। पार्किङको व्यवस्थापन गरेपछि मात्र घर भाडामा लगाउन पाइने नियम बनाउनुपर्छ।
कतिपय व्यापारीहरु राँगा, भैंसी काट्छन्। अनि त्यसको फोहोर बाटोमा ल्याएर फ्रयाल्छन् । कतिपय त बाटोमै राँगा, भैंसी काट्छन्। यसले गर्दा वातावरणसँगै मानवीय स्वास्थ्यमा समेत गम्भीर नकारात्मक असर परेको छ । मानिसहरुमा विभिन्न प्रकारका रोग देखा परेका छन्। वातारण पनि प्रदूषित भएको छ।
आफ्नो वडाभित्र कसले के व्यापार वा व्यवसाय गरिरहेको छ ?, उसले व्यवसाय दर्ता गरेको छ कि छैन ?, राज्यको नीति,नियम पालना गरेको छ वा छैन ? र राज्यलाई कर तिरेको छ कि छैन ? भनेर वडाध्यक्षलाई थाहै हुदैंन । वर्क शप व्यवसायीहरुले बाटोमै सवारीसाधन बनाइरहेका छन्।
बाटोमै मोबिल फ्रल्यालिदिन्छन्। सवारीसाधन सफा गर्छन्, त्यो पनि बाटोमै। सहरलाई सुन्दर र व्यवस्थित बनाउनु संघ, प्रदेश र स्थानीय सरकारकै दायित्व हो। विदेशीहरु उपत्यकाका विभिन्न ठाउँमा घुमफिर गर्न आउँछन्। विडम्बना, ती ठाउँको हालत देख्दा कोही पनि फेरि आउन रुचाउँदैन।
आफ्नो घरअगाडिको बाटो सफा गर्ने वा राख्ने घरधनीहरुको पनि कर्तव्य हो। तर, हाम्रोमा त घरअगाडिको बाटो सफा गर्नु त परको कुरा हो, उल्टै घरको फोहोर चाँहि झप्याल वा छतबाट बाटोमा फ्रयालिन्छ।
सडककै छेउछाउमा रोडा, ढुंगा, बालुवा, गिट्टी व्यवसाय सञ्चालन गरिएको छ। जसले ट्राफिक जाम बढिरहेको छ। तर, यो हटाउन पनि कसैले चासो दिएको छैन। अहिले कतिपय ठाउँका स्थानीयले आफ्नो बस्तीबाट कबाडी हटाउन वडामा उजुरी दिँदा समेत वडा वा महानगरले मतलब नगरेको बताइन्छ।
राजधानी अस्तव्यस्त बनेको छ। आकाशे पुलमा समेत मानिसहरुले व्यापार गरिरहेका छन्। माग्ने मान्छे पनि उत्तिकै भेटिन्छन्। जेब्राक्रस पनि नदेखिने छन्। फेरि त्यस्तै ठाउँमा पुलको पनि अभाव छ।
यसले सर्वसाधारणलाई बाटो काट्न महाभारत हुने गरेको छ। सवारीसाधन दुर्घटनाबाट मात्र दिनमा एक दर्जनभन्दा बढीको निधन हुने गरेको छ।
कसरी दुर्घटना न्यूनीकरण गर्ने ?, ट्राफिक जाम हटाउने ? र सहरलाई कसरी सुन्दर, सफा र स्वच्छ बनाउनेतर्फ सरकारले ध्यान दिएको छैन। उपत्यकामा काठमाडौं, ललितपुर भक्तपुर पर्छन्।
काठमाडौंका मेयर र नगर प्रहरीले काम गर्न खोज्दा पनि राजनीतिक दलहरुले दिएका छैनन्। ललितपुर र भक्तपुरका मेयर र नगर प्रहरी त कामै गर्न खोज्दैनन्।
ललितपुर र भक्तपुरमा न फुटपाथ व्यवसायी हटेका छन् न यहाँको सरकारी, सार्वजनिक जग्गाको खोजतलास गरिएको छ। उपत्यका ट्राफिक जाम, फोहोर र प्रदूषणले बस्न सकिदैंन भनेर मुलुकभरका जनताले थाहा पाइसकेका छन्। यतिमात्र नभई अहिले त विदेशीहरु समेत यसबारे जानकार छन्।
चिरीबाबु महर्जन दुई पटक ललितपुरको मेयरमा निर्वाचित भए। पहिलो कार्यकालमा केही गरेपनि दोस्रो कार्यकालमा उनले सिन्को समेच भाँचेका छैनन्। भक्तपुरको सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाको पनि यो दोस्रो कार्यकाल हो। यद्यपि, उनले अहिलेसम्म सिन्को भाँचेका छैनन्।
उता, भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले पनि दोस्रो कार्यकालमा केही गरेका छैनन्। राजनीतिक दलबाट चुनाव जितेका वडाध्यक्ष र मेयरहरुले केही गर्दैनन् भनेर जनता स्पष्ट भइरहेका छन्। तर, राजनीतिक दलहरु अझै पनि जनता भड्काउनतिर लागिपरेका छन्।
आफ्ना कार्यकर्तालाई सडकमा उतारेर काम गर्नेप्रति खनिएका छन्। उनीहरु आफुले त जनता र राष्ट्रको लागि काम गरेनन् र अहिले काम गर्न खोज्नेलाई समेत असफल बनाउन खोजिरहेका छन्। यीनीहरु कहिल्यै सुध्रिने भए।
सहरलाई सफा, सुन्दर र स्वच्छ बनाउन अब उपत्यकाबासी पनि एक जुट हुनुपर्छ। काम नगर्नेको विरोध गर्नुपर्छ र काम गर्नेलाई साथ, सहयोग दिन सडकमा ओर्लिनुपर्छ। सरकारले पनि जनताको हितका लागि काम गर्नुपर्छ। सहरलाई अस्तव्यस्त र प्रदूषित बनाउने व्यवसाय उपत्यकाबाट बाहिर सार्नुपर्छ। यो काम गर्न अब ढिलो गर्नुहुन्न।