प्रचण्ड र धर्मेन्द्रबीच कार्यक्रममै घोचपेच, विप्लवको देशमा उथलपुथल पार्ने घोषणा

काठमाडौं। माओवादी पृष्ठभूमिका नेताहरुबीच कडा घोचपेच चलेको छ। शहीद प्रतिष्ठान नेपालले आयोजना गरेको शान्ति प्रक्रिया,संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीतिक विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी नेताहरुमा घोचपेचमात्रै चलेन,देशमा उथलपुथल ल्याइरहने र आइरहने चर्चा समेत चल्यो। तर,माओवादी पृष्ठभूमीका नेताहरुबीच चर्को विवाद र चर्को मिलाप किन चल्यो त?

शहीद प्रतिष्ठान नेपालद्वारा आयोजना भएको अन्तरक्रिया कार्यक्रममा माओवादी पृष्ठभूमिमा नेताहरुले भाषण गरे। उनीहरुको एउटै स्वर थियो, कम्युनिष्टहरुबीचको एकताको विकल्प छैन्। देश बनाउनका लागि एकताबद्ध बनौं।

एकताको खोजी गर्नुपर्ने आवश्यकता औल्याएका नेताहरुले एकताको सुत्र भने पहिल्याउन सकेको देखिन्न। प्रसंग धर्मेन्द्र बास्तोलाबाट शुरु भएको छ।

धर्मेन्द्रले कार्यक्रममा भारतीय एक पुस्तकको विवरण कोट्याउदै प्रचण्डलाई इमान्दार घोडा भनिएको विषय उठाए। उनले यो विषयमा गहन छलफलको माग गर्दै प्रचण्डलाई प्रश्न नै गरे।

यस्तो प्रश्नपछि प्रचण्डले पनि धर्मेन्द्रमाथि आक्रोश पोखे। ठूला कुरा किन गर्ने भन्दै कड्किएका प्रचण्डले अनेकन प्रश्न तेस्र्याए।

यसरी धर्मेन्द्र र प्रचण्डबीचको विवाद चलेपनि विप्लवबारे भने प्रचण्ड नरम पेश भए। उसोतः विप्लवले पनि प्रचण्डलाई नायक भन्न भ्याए। विप्लवले प्रचण्डलाई उक्साउदै माओवादीहरु शान्त नबस्ने भन्दै उथलपुथल पार्ने घोषणा नै गरिदिए।

विप्लवले प्रचण्डलाई अध्यक्ष भन्दै हौस्याए पनि। यसपछि प्रचण्डले पनि आफू नमरुन्जेल उथलपुथल भइराख्ने भन्दै उत्तेजना नै व्यक्त गरे।

तत्कालीन समयमा झण्डै ११ बर्ष लामो समयसम्म चलेको जनयुद्धका सहयात्रीहरु एकता र मिलापको कुरा त गर्छन् तर,उनीहरु आ–आफ्नै पार्टी चलाउन उद्दत छन्। तर,स्वार्थको सहकार्यमा उनीहरु समावेश होलान वा क्रान्तिकारी ध्रुविकरणका लागि राजी होलान रु यो विषय भने समयक्रमसँगै खुल्दैजानेछ।