आरती शाहको शङ्कास्पद मृत्यु अनुसन्धान गर्न सिआईबीको टोली जाने
काठमाडौं। गृह मन्त्रालयले आरती शाहको शङ्कास्पद मृत्यु भएको घटनाबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो ९सिआईबी०को टोली पठाउने भएको छ।
मङ्गलबार गृह मन्त्रालयका अधिकारीहरूले पीडित परिवारसँग सीआइबीको टोली पठाउने सहमति गरेका हुन् । ५ बुँदे सहमतिसँगै १० महिनादेखि आन्दोलनरत शाहका परिवारले आन्दोलन फिर्ता लिएका छन्।
सहमति अनुसार २०८० जेठ ७ मा धनुषाको जनकपुर उप–महानगरपालिका वडा नम्बर–९ स्थित थापा चोकमा रहेको घरमा शङ्कास्पद रूपमा मृत फेला परेकी आरती शाहको मृत्युबारे ब्यूरोले थप अनुसन्धान गर्नेछ।
सिआईबीको टोलीलाई जनकपुर पठाउने सहित ५ बुँदे सहमतिमा गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराई, काठमाडौँका प्रजिअ जितेन्द्र बस्नेत र उपसचिव एकदेव अधिकारीले हस्ताक्षर गरेका छन्।
ब्युरोको टोलीले काम थालेको ४५ दिनभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ। जिल्ला प्रहरी कार्यालय धनुषाका तत्कालीन प्रहरी अधिकारीहरूले पीडित परिवारमाथि कुटपिट र दुर्व्यवहार गरेको घटनाबारे पनि अनुसन्धान गर्न ब्युरोको टोलीलाई कार्यादेश दिइएको छ।
सिआईबीको अनुसन्धान प्रतिवेदनको आधारमा पुनः अभियोजन गर्न पीडित पक्ष र गृह मन्त्रालयका अधिकृतहरू सहमत भएका छन्।
सहमतिमा आरतीका परिवारको तर्फबाट उनकी आमा निर्मला देवी शाह, दाजु प्रेम शाह र मामा सन्तोष कुमार शाहले हस्ताक्षर गरेका छन्। छलफलमा सांसद प्रभु शाह पनि सहभागी थिए।