तस्कर, गुण्डा र अपराधी समात्न मेरो आदेश कुर्नु पर्दैन,कानुन अनुसार अघि बढ्नु: गृहमन्त्री लामिछाने

फाइल तस्वीर

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशभरका प्रहरीलाई निर्देशन दिँदै आपराधिक गतिविधिमा संलग्न जोकोहीलाई पक्रन निर्देशन दिएका छन्।

मंगलबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले गैरकानुनी धन्दा र आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई कारबाही गर्न माथिको आदेश कुरेर नबस्न र कानुन अनुसार अघि बढ्न अपिल नै गरेका छन्।

उनले गैरकानुनी धन्दा, कर छली, तस्करी, गुण्डागर्दी, धाकधम्की लगायत गतिविधिमा संलग्न जोकोही भए पनि कानुनका दफा देखाएर सीधै कारबाही गर्न निर्देशन दिएका हुन्। कानूनी राज्य के हो भनेर त्यस्ता व्यक्तिलाई दखाइदिन समेत उनले आग्रह गरे।

आफूले प्रहरीको स्यालुट लिने नभई बरु असल काम गरेमा प्रहरीलाई नै आफूले स्यालुट ठोक्ने भन्दै लेखिएको उनको स्टाटसमा मिश्रित प्रतिक्रिया आएका छन्। कतिले भनेका छन्– फेसबुकमा लेख्न त हर्क साम्पाङ छँदै छन्, रविले त चुपचाप काम गरेर नतिजा दलेखाउनु प-यो।

धरानका मेयर साम्पाङ फेसबुकमा धेरै लेखेर फुर्ति देखाउने मेयरको रुपमा बदनाम हुँदै आएका छन्। गृहमन्त्री लामिछानेले आफूले गृह मन्त्रालय पाएमा डेलिभरी दिने बताउँदै आएका थिए।

केही दिनअघि उनले चेक लिस्ट लिएरै आएको र केही समयमै परिणाम देखाउने भनेर स्टाटस लेखेका थिए। उनको आशय आपराधिक गतिविधिमा मुछिएका र संलग्नहरु को–कोलाई कारबाही हुने, पक्राउ गरिने वा अनुसन्धान थालिने भन्ने नामावली नै आफूसँग छ भन्ने थियो।

पूर्व सञ्चारकर्मी रहेका लामिछाने छोटो समयमै राजनीतिमा उदाएर दोस्रोपटक गृहमन्त्रालयको नेतृत्व हातमा लिन सफल भएका छन्। यसअघि गत वर्ष करिब एक महिना मात्र गृहमन्त्री बनेका लामिछाने नागरिकता काण्डमा मुछिएपछि निलम्बित भएका थिए।

पुनः निर्वाचित भएर अहिले दोस्रोपटक शक्तिशाली रुपमा उदाएका उनले अब बोलेजसरी काम गर्न सक्छन् कि सक्दैनन्, परीक्षा बल्ल सुरु भएको छ।

आइतबार गृहमन्त्रीको रुपमा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका लामिछानेले त्यस क्रममा पनि हरेक नागरिकले सुरक्षाको अनुभूति हुनेगरी सेवा प्रवाह गर्न र कसैको अनुहार, पद, प्रतिष्ठा नहेरी प्रमाणका आधारमा निष्पक्ष भएर अपराध अनुसन्धान तथा कारबाही अघि बढाउन निर्देशन दिएका थिए।

उनले कुनै पनि घटनाका प्रतिवादीलाई कसैको आदेशका आधारमा नभई प्रमाणका आधारमा दोषी ठह(याउन र आवश्यक कारबाही गर्ने भनेका थिए।

प्रहरी कर्मचारीहरूले आफूलाई सुम्पिएको जिम्मेवारी कानुनी परिधिमा रही निर्वाह गर्नुपर्ने र उनीहरूको वृत्तिविकासको सुनिश्चितता सङ्गठनले गर्नुपर्ने समेत उनले बताएका थिए।

पछिल्लो समय मिटरब्याजपीडित, सहकारीपीडितको समस्या ठूलो चुनौतीको रूपमा देखा परेको भन्दै गृहमन्त्रीले आर्थिक अपराध, ठगी, साइबर अपराध, लागुऔषध कारोबारलगायतका आपराधिक गतिविधि नियन्त्रणमा जुट्न पनि प्रहरीलाई आग्रह गरे।

हुन त मन्त्री बनेपछि अवलोकन, निरीक्षण भ्रमणमा जाने, निर्देशन दिने पुरानै परिपाटी हो। यो केवल औपचारिकताका लागि गर्ने गरिन्छ।

वर्तमान सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विगत एक वर्षदेखि राम्रो कामको रटान लाउँदै निर्देशन दिनेमा एक नम्बर थिए। तर सरकारका कामको कुनै प्रभावकारिता नदेखिएपछि उनले गठबन्धन नै फेरेर नयाँ मन्त्रीमण्डल गठन गर्ने जोखिम उठाए।

नयाँ मन्त्रीहरुमा रविजस्ता ‘अनटेस्टेड’ र आशलाग्दा अनुहार देखिनु सकारात्मक कुरा हो। यद्यपि चटक देखाउनका लागि मात्रै फेसबुके निर्देशन दिने, भाषण छाट्ने, फुर्ति लाउने भन्दा पनि दूरदर्शी सोच राखेर काममा जुट्नु अहिलेको आवश्यकता हो।

चौतर्फी भ्रष्ट्राचारले मुलुक आक्रान्त भइरहँदा र प्रमुख नेताकै नातेदारहरु तस्करी,भ्रष्टाचार,सरकारी जग्गा हडप्ने लगायत आपराधिक काममा संलग्न रहँदा गृहमन्त्री लामिछानेले के कस्तो एक्सन लिन सक्छन् वा सक्दैनन्,यो अबको आम चासोको विषय हो।