सुन तस्करी छानबिन प्रतिवेदन: सीआईबी प्रमुख बज्राचार्यसहित ४ जनालाई कारबाही सिफारिस

काठमाडौं । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित आयोगले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करीको छानबिनमा गम्भीर त्रुटि गरेको निष्कर्ष निकालेको छ।

मुद्दा चलाउनुपर्नेलाई समेत जोगाएको आरोपमा आयोगले ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्यलाई समेत कारबाहीको सिफारिस गरेको हो।

योसँगै सुनसम्बन्धी अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई पनि विभागीय कारबाहीको सिफारिस भएको छ।

उनीहरुले सुन तस्करीमा जोडिएका एक मुख्य व्यक्ति जीवन चलाउनेलाई भगाएको आरोप छ। ब्यूरोमा उपस्थित गराएर समेत छाडेको उनीहरुको माथि आरोप छ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मा आफ्नो भएको बताएका छन्। उनले यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग समेत ब्रिफिङ गरेका छन्।