अभ्यास खेलमा नेपाल मलेसियासँग पराजित

काठमाडौं । अभ्यास खेलमा नेपाल मलेसियासँग पराजित भएको छ। फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोट अन्तर्गत बहराइनविरुद्धको खेलअघि नेपालले मलेसियामा खेलेको अभ्यास खेलमा ५-१ ले पराजित भएको हो।

खेल कूल १४० मिनेट खेलाइएको थियो भने ३५-३५ मिनेटको चार हाफमा खेलाइएको फुटबल एसोसिएसन अफ मलेसियाले जनाएको छ।

मलेसियाको लागि डारेन लोकले ३१औं र ३५औं मिनेटमा गोल गरे। यस्तै स्टुअर्ट विल्किनले ४६औं, डानिएल टिङले ४८औं तथा मुखाइरी अज्मल माहदीले १३५औं मिनेटमा गोल गरे।

नेपालका लागि समिर तामाङले एक मात्र गोल फर्काएका थिए। समिर पहिलो पटक नेपालको सिनियर टिममा परेका हुन्।

विश्वकप छनोटको दोस्रो चरणको समूह बी मा रहेको नेपालले बहराइन विरुद्ध होम एण्ड अवे दुवै म्याच बहराइनमै खेल्नेछ। नेपाल र बहराइनबीच चैत ८ र १३ गते खेल हुनेछ।