जनतालाई झुक्काउने, सत्तामा जाने र काण्ड मच्चाइरहने कार्यको अन्त्य कहिले ?
अनुसा थापा
काठमाडाैं। नेकपा एमालेको स्थापना गर्ने मनमोहन अधिकारी र मदन भण्डारी हुन् । धेरै दुःख गरेर एमाले संगठित गरिएको हो । जनताबीच एउटा लोकप्रिय पार्टी बनाउन यी दुई नेताको महत्वपूर्ण भूमिका छ । भण्डारीको निधन पार्टीको महासचिव हुँदै भयो । उनी मुलुकको प्रधानमन्त्री बन्न पाएनन्।
अधिकारी भने नौं महिना प्रधानमन्त्री भए। अधिकारी र भण्डारीले गरेकै कामको आधारमा जनताले अहिले एमालेलाई पत्याएका हुन्। नत्र एमालेमा राम्रा भन्ने नेता को नै छन् ? अधिकारीले प्रधानमन्त्री हुँदा एक सय रुपैयाँ भत्ता दिने निर्णय गरे। जनताले तिरेकै करबाट भएपछि उनले त्यसको शुरुवात गरिदिए।
त्यतिबेला गरेको निर्णयले वृद्धवृद्धालाई निकै सहज भएको छ। अधिकारीले ‘आफ्नो गाउँ आफैं बनाऊँ’ भन्ने अभियान पनि चलाएका थिए । भण्डारी र अधिकारीले गरेको कामको अहिले पनि स्मरण गरिँदै आएको छ । दुवैलाई आम नागरिकले राम्रो व्यक्ति भन्छन् । तिनै मेहिनेतको ब्याज अहिले एमालेका नेताहरुले खाइरहेका छन्।
\ठूलो संघर्षले बनाएको पार्टी सकाउन एमालेका अध्यक्षदेखि नेताहरु नै लागिपरेका छन् । ‘जे मुखमा आयो, त्यही बोल्ने’ कार्यले प्राथमिकता पाएको छ । एमालेका नेताहरुलाई कहाँ के र कति बोल्ने भन्ने नै थाहा छैन् । अरुलाई गाली गर्न, होच्याउने एमालेका नेताहरु नम्बर वानमा छन्।
केही महिनाअघि अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको नाम लियो भने अछुतो हुने बताएका थिए। अहिले त्यही नेपालसँग गएर टाँसिएका छन्। ओली मात्रै होइन् शंकर पोखरेल, ईश्वर पोखरेल, विष्णु पौडेललगायतका नेता पनि यस्तै भाषाको प्रयोग गर्थे। माधव नेपाल पहिले एमालेमै थिए।
तर, ओलीसँग ठासठुस परेपछि उनले आफ्नै पार्टी खोले । यी दुई पार्टीका अध्यक्षलाई एकअर्कासँग जुहारी खेलेर भ्याइनभ्याइ हुन्थ्यो । कसरी एकअर्कालाई होच्याउन पाइन्छ ? भन्नेमै यिनको ध्यान केन्द्रित थियो । रोचक कुरा त के छ भने, सत्ताको कुरा आएपछि त जो जस्तो भएनि चल्ने रहेछ।
अछुतो भन्नेहरु अहिले त्यतै गएर टाँसेका छन् । जनताले यिनीहरुलाई के भन्ने ? सत्ताका लागि यिनीहरु जे पनि गर्छन् । हुन त सत्ताको ‘किरो’ जो परे। भण्डारी र अधिकारी साधारण जनताकै रुपमा हिँड्थे । न सुरक्षाकर्मी अघिपछि खटाउथे । त्यही पार्टीको वर्तमान अध्यक्षको पारा हेर्दा सर्वसाधारणलाई झिँझो लागेर आउँछ।
अगाडिपछाडि सुरक्षाकर्मीको फौज राखेर हिँड्ने गरिन्छ । घरबाट निस्ँिकदासमेत जोडतोडले साइरन बजाँउदै तीव्र गतिमा गाडी गुडाइन्छ । एमालेबाट रष्ट्रपति, धेरै प्रधानमन्त्री र मन्त्री भए । अधिकारीपछि झलनाथ खनाल, माधव नेपाल, केपी शर्मा ओली प्रधानमन्त्री बने । विद्यादेवी भण्डारीले राष्ट्रपति खाइन् ।
मात्रै होइन्, एमाले प्रत्येक पटक सरकारमा गएको छ । एमालेबाट हरेकपटक मन्त्री बनेका छन् । यद्यपि, एमालेले राष्ट्र र जनताको हितमा त्यस्तो स्मरणीय काम गर्न सकेन् । हुन त भण्डारीकै श्रीमती राष्ट्रपति बनिन् तर उनको ‘हत्यारा’ खोज्न चासो देखाइनन् । नेपाल प्रधानमन्त्री हुँदा धमाधम सरकारी सम्पत्ति व्यक्तिको नाममा पास गरियो ।
सामान्य परिवारमा जन्मिएका नेपालको अंकुत सम्पत्ति भएको सर्वसाधारण बताउँछन् । उनको पृष्ठभूमि हेर्ने हो भने उनी बैंकको कर्मचारी हुन् । ओलीले त प्रधानमन्त्री भएपछि झनै उल्का गरे । उनलाई प्रधानमन्त्रीको जिम्मा के ? भन्ने नै थाहा भएन् । देश र जनताको हितमा काम गर्नुपर्ने पदमा बसेका व्यक्ति वालुवाटारमा बाँसुरी बजाएर दिन कटाउथें ।
यतिसम्म गरेकि देशको नक्सा अंकित केकसमेत काटेर खाए । जनताले तिरेको करबाट ठूल्ठूला भोज खुवाउथें । आफ्नो पार्टीको सांसद र कार्यकर्तालाई तीजको भोज खुवाउने गरिएको थियो । मन्त्रिपरिषद्को बैठक पनि वालुवाटार, पार्टीको पनि । सिंहदरबार र पार्टी कार्यालय जानै छोडेका थिए ।
उनी हरबखत अस्पतालको बेडमै हुन्थे । भण्डारी र अधिकारी जति त्यागी थिए, अहिलेका एमालेका नेताहरु त्यति नै लोभी छन् । न्यून आर्थिक स्तर भएको घरपरिवारमा जन्मिएका ओलीसँग पनि अंकुत सम्पत्ति भएको बताइन्छ । झलनाथ खनाल प्रधानमन्त्री भए तर सिन्को भाँचेनन्।बरु, सर्प पाल्ने नाममा करोडौं रुपैयाँ जनताले तिरेको कर हिनामिना गरियो । विगतमा जस्तोसुकै भएपनि उनी अहिले पूँजीपति नेतामै गनिन्छन्।
एमाले नेता योगेश भट्टराई पनि यही सूचीमा आउँछन् । रामकुमारी झाँक्री, महेश बस्नेतलगायत पनि पूँजीपतिको सूचीमा समेटिन्छन्।
एमालेका नेताहरु पछिल्लो समय विभिन्न काण्डमा मुछिँदै गएका छन् । यौन काण्डदेखि अन्य प्रकरणसम्म उनीहरुको नाम जोडिएको छ। भक्तपुरमा जति पनि जग्गा प्लानिङ्ग भएको छ, ती सबै बस्नेतको भएको बताइन्छ । २०५० सालमा केही नभएका बस्नेतले छोटो अवधिमा धेरै प्रगति गरेका छन्, कसरी ?
सुन प्रकरणमा सर्वेन्द्र खनालको नाम पनि आइरहेको छ । यी त केही उदाहरण मात्र हुन् । एमालेका अधिकांश नेता यस्तै छन् । एमालेका नेताहरुले इमान्दारिता र नैतिकता छोडे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा हुँदा एउटा पत्रकारले अन्तरवार्ताको क्रममा प्रश्न गरे,‘तपाईंसँग सम्पत्ति कति छ ?’
त्यो प्रश्न सोधेको भनेर बाँस्कोटाले कार्यक्रम नै बन्द गरिदिए। पत्रकारको जागिर नै खाइदिए । यस्ता त नेता छन्। उनीहरुले जे गर्दा पनि ठीक अनि पत्रकारले प्रश्न पनि गर्न नपाउनु ? पछि त्यही बाँस्कोटालाई ७० करोड भ्रष्टाचारको आरोप लाग्यो। उनले सफाइ पाए होला, तर आरोप त लाग्यो।
एमाले यत्तिकै पतानसाफ हुँदै गएको होइन् । यस्ता नेता भएपछि पार्टी सकिनु स्वाभाविकै हो। एमालेमा राम्रा र त्यागी नेता पनि छन् । तर, तिनले अवसर पाएनन् । उनीहरु अहिलेपनि दबिएर बसेका छन्। ओली र नेपालको दाहिने हातले मात्र अवसर पाए, अरु हेरेको हेर्यै ।
एमालेका वडाध्यक्षदेखि सांसद र भूपू प्रधानमन्त्रीको सम्पत्तिको खोजतलास गर्ने हो भने सबै भ्रष्टाचारी निस्किन्छन् । हिजो र आजको सम्पत्ति दाँज्नमा मात्र बेर छ । भण्डारी र अधिकारीको योगदान र इमान्दारिता हेरेर जनताले एमालेलाई भोट दिए । तर, एमालेका नेताहरुले जनतालाई के दिए ?
दुई त्यागी नेताको नाम बेचेर एमालेका नेताहरुले आफ्नो स्वार्थ पूरा गरे । त्यसैले अब जनताले एमालेलाई पत्याउनुअघि दशचोटि सोच्नुपर्छ । किन कि अब एमालेमा भण्डारी र अधिकारीजस्ता नेता छैनन् । केही वर्षअघि पूर्वप्रहरी रमेश खरेलले एउटा कार्यक्रममा भने,’वामदेव गौतम गृहमन्त्री हुँदा नै सुन तस्करी हुन्थ्यो।
अब गौतमलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्छ । जुनसुकै पार्टी होस् अब छोड्ने होइन् । मुलुक अन्तर्राष्ट्रिय स्तरमै बद्नाम भएको छ । एकपछि अर्को काण्ड, यस्ता पनि नेता हुन्छन् ? माओवादी नेतासहित तिनका सन्तानमाथि प्रधानमन्त्री प्रचण्डले कारबाही गर्दैछन् । त्यो एकदमै राम्रो काम हो ।
चाहे भूपूराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री सबैको सम्पत्ति छानबिन गरौं । आफ्नो पार्टीको होस् या अन्य पार्टीको, कसैलाई नछोडौं । प्रचण्डले अवसर पाएका छन्, त्यसको सदुपयोग गरौं । ओली पटकपटक प्रधानमन्त्री भए, तर उनले कुनै छानबिनको प्रक्रिया अघि बढाएनन् । आफ्ना पार्टीको नेता मुछिन्छन् भन्ने डर उनलाई थियो ।
केही वर्षअघि सदनमा उभिएर ओलीले आफ्नो सम्पत्ति सरकारलाई दिएको र आफू र आफ्नो श्रीमती मरेपछि सो सम्पत्ति सरकारको हुने बताएका थिए । तर, उनको सम्पत्ति कहाँ कति छ, कसैलाई थाहा छैन् ? उनले सरकारको नाममा सबै सम्पत्ति पास गरिदिए भनेर जनताले कसरी पत्याउने ?
जनतालाई तेह्रथुम, झापा र बालकोटमा ओलीको घरजग्गा छ भन्ने जनतालाई थाहा छ। कहाँको पास गरे ? देखाउनपर्यो नि। जनतालाई झुक्काउने काम मात्र भएको छ। जनता र मिडियालाई अल्मलाएर राखिएको छ। माओवादीले पनि जनयुद्धको क्रममा ओलीकै बोली बोल्थें।
हामीले आफ्नो सम्पत्ति पार्टीलाई दियौं भन्थे। तर, अहिले माओवादी त्यस्तै नेताका कारण बद्नाम बनेको छ। नेताहरु जनता र मिडियालाई झुक्काउने,भ्रष्टाचार गरिरहने । यसको अन्त्य कहिले हुन्छ ?