दुबई पठाइदिने भनी कुवेत पुर्याई बेचबिखन गर्ने एकजना पक्राउ
काठमाडौं। दुबईको पार्लरमा आकर्षक तलब हुने काममा पटाइदिने प्रलोभनमा पारी कुवेतमा पुर्याई बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
बारा निजगढ नगरपालिका-१ ठेगाना भई ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली बस्ने ५० वर्षीय गणेश बहादुर कटुवाललाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ।
मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ टोखा नगरपालिका-५ बाट पक्राउ गरेको हो।
कटुवालले नेपालमा व्युटिपार्लर सञ्चालन गरी बसिरहेकी पीडितलाई आकर्षक तलब र सुविधा हुने दुबईको पार्लरमा काममा लगाइदिने प्रलोभन दिएको,भिसा टिकट लगायतको प्रक्रियाहरू गर्नका लागि १ लाख ५० हजार रुपैयाँ लिएको,दुबई पटाइदिने भनी झुक्क्याई कुवेत पुर्याई बन्धक बनाएको समेत प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ।
साथै कुवेतमा पुगे पश्चात् एजेन्ट अफिस सञ्चालकले शारीरिक तथा मानसिक यातना दिई मोबाइल र नेपाली राहदानी समेत नियन्त्रणमा लिई विभिन्न स्थानहरूमा घरेलु कामदारको रूपमा पठाएको खुल्न आएको हो।
उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तहरूको समेत प्रहरीले खोजी गरिरहेको छ।