टेलिकमको एनटी फाइबर प्रयोग गर्दा दैनिक मोबाइल डाटा सित्तैमा
काठमाडौं। नेपाल टेलिकमको एनटी फाइबर प्रयोग गर्दा मोबाइलमा दैनिक रुपमा मोबाइल डाटा प्रयोग गर्न सकिने भएको छ। नेपाल टेलिकमले उपलब्ध गराइरहेको एफटीटीएच (फाइबर टु द होम) प्रविधिमा आधारित एनटी फाइबरका विभिन्न प्याकेज लिँदा त्यसै अनुसारको मोबाइल डाटा उपलब्ध हुन्छ।
नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न प्याकेज मध्ये वार्षिक एफटीटीएच कम्बो प्याकेज र एफटीटीएच डाटा प्याकेज प्रयोग गर्ने प्रयोगकर्ताहरुले यो सुविधा उपयोग गर्न सकिन्छ।
कम्पनीका अनुसार वार्षिक एफटीटीएच कम्बो प्याकेज अन्तर्गत ५० एमबीपीएस र १०० एमबीपीएस डाटाका साथै १ एनटीटीभी र १ टेलिफोन प्रयोग गर्ने सेवाग्राहीले दैनिक रुपमा आफ्नो मोबाइलमा क्रमशः ६०० एमबी र ८०० एमबी डाटा प्रयोग गर्न सक्नेछन्।
एफटीटीएच डाटा प्याकेज प्रयोग गर्ने सेवाग्राहीलाई पनि त्यसै अनुसार मोबाइलमा समेत डाटा प्रयोग गर्न सकिने सुविधा उपलब्ध छ।
यसअनुसार ५० एमबीपीएस, ७५ एमबीपीएस र १०० एमबीपीएस डाटा प्रयोगकर्ताले दैनिक रुपमा क्रमशः ६०० एमबी, ७०० एमबी र ८०० एमबी डाटा प्रयोग गर्न सक्नु हुन्छ भने १५० एमबीपीएस र २०० एमबीपीएस डाटा प्रयोगकर्ताले दैनिक रुपमा क्रमशः ९०० एमबी र १००० एमबी डाटा प्रयोग गर्न सकिने जारी विज्ञप्तीमा उल्लेख छ।
आफूलाई आवश्यकता अनुसार उपयुक्त स्पिडको इन्टरनेट चलाउन,टेलिफोन गर्न, टेलिभिजन हेर्न र मोबाइलमा डाटा समेत चलाउन सकिने भएकाले नेपाल टेलिकमले उपलब्ध गराइरहेको एनटी फाइबर सेवा हाल लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ।
एनटी फाइबर सेवा प्राप्त गर्न चाहने सेवाग्राहीहरुले १९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी आफूलाई आवश्यक पर्ने सेवा र स्थानका बारेमा पहिले नै माग दर्ता गर्न सकिने छ। त्यसपछि कम्पनीका प्रतिनिधिले आवश्यक जानकारी दिने व्यवस्था गरिएको जनाएको छ।