कार्यालय समयमा बैठक भत्ता नदिन अख्तियारको निर्देशन
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी तथा सार्वजनिक निकायमा कार्यालय समयभित्र बस्ने बैठकहरुमा सहभागी सरकारी पदाधिकारी र कर्मचारीलाई भत्ता दिने काम रोक्न निर्देशन दिएको छ।
आयोगले बिदा वा काजमा रहेको अवधिमा कार्यालयको बैठक वा अन्य निर्णय प्रक्रियामा सहभागी हुने र बैठक भत्ता लिने कार्य रोक्न समेत निर्देशित गरेको हो।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार विभिन्न मन्त्रालयहरुलाई पत्राचार गर्दै बैठक भत्तामा देखिएका विकृतिहरु हटाउन सुझाव दिइएको हो।
सरकारी कार्यालयहरुमा अनावश्यक बैठक बस्ने र भत्ता लिने प्रचलन छ। भत्ताकै लागि बैठक बसाल्ने र कार्यालय समयभित्र कार्यालयको कामभन्दा यस्ता बैठकमा सहभागी हुने विकृति हरेकजसो सरकारी निकायमा छ। अझ कार्यालय समय सकिएपछि पनि अनावश्यक बैठक बसाल्ने गरिएको छ।
कार्यालय समयभित्र नियमित कामकाज र छलफलका लागि बस्ने बैठकमा समेत भत्ता बाँड्ने विकृति पनि छ। बिदामा बसेका कर्मचारीहरु बैठक भत्ता बुझ्नका लागि बैठकहरुमा जाने गरेका छन्। बैठक भत्तामा देखिएका यस्ता विकृति विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्ने गरेको छ।
यसकै आधारमा अख्तियारले बिदा वा काजमा रहेका पदाधिकारी र कर्मचारीलाई सो अवधिमै कार्यालयमै बैठक वा अन्य निर्णय प्रक्रियामा सहभागी गराउने कार्य प्रचलित कानुनको बर्खिलाप अनियमित कार्य हुने बताएको छ। अबदेखि त्यस्तो कार्य नगर्नरनगराउन भन्दै सबै मन्त्रालय र निकायहरुलाई भनेको छ।