सहकारी ठगहरूको पक्षमा फैसला सुनाउन सरकार उद्दत भएको काँग्रेसको आरोप
काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगहरूको पक्षमा सरकारले वकालत गरिरहेको आरोप लगाएको छ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा कांग्रेसकी सांसद प्रतिमा गौतमले सहकारी ठगहरूको पक्षमा सरकारले वकालत गरिरहेको बताइन्।
‘सरकार अहिले सहकारी पीडितलाई न्याय दिने कुरामाभन्दा उनीहरूलाई न घरको न घाटको बनाउने सहकारी ठगहरूको पक्षमा वकालत गर्ने,फैसला सुनाउन उद्दत भएको देखिन्छ, उनले भनिन्।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्ध सहकारी प्रकरणमा उजुरी परेको पनि उनले बताइन्।
प्रधानमन्त्रीज्यू यही संसदमा आएर गृहमन्त्री रवि लामिछानेविरूद्ध परेको कानूनी हिसाबले मुद्दा गर्न अयोग्य भएको फैसला गर्नुहुन्छ,मानौं वासिङ मेसिनमा राखेर सफाचट्ट पारेर निकालेकोजस्तो गरेर यहाँ बोल्नुहुन्छ,उनले भनिन्, आरोपित गृहमन्त्री आफूविरूद्ध परेको उजुरीलाई चिर्कटोको संज्ञा दिनुहुन्छ।
दुस्ख लाग्छ, उजुरी त कागजमै लेख्ने होला नि, कि ताम्रपत्र, स्वर्णपत्रमा लेख्ने चलन भए त्यो पनि हामीलाई हुन्थ्यो नि सभामुख महोदय।
यस्ता घटनाले सहकारीपीडितले दिएको उजुरीको अनुसन्धान प्रक्रिया पूर्ण रूपमा प्रभावित बनेको उनले बताइन्। ‘त्यसकारण हामीले संसदीय छानबिन समितिको आवश्यकता देख्यौं र बनाउनुपर्ने माग रह्यो,’ उनले भनिन्, ‘सबैले प्रमाण छैन भनेर आउनु भएको छ, गम्भीर आरोप लागेकोले अनुसन्धान नगरी खारेज गर्न हुन्न।
सोमबारको प्रतिनिधि सभा बैठक सुरू हुनेबित्तिकै कांग्रेस सांसदहरू बसेको ठाउँबाट उठेर विरोध जनाएका थिए। सभामुख देवराज घिमिरेले सांसद गौतमलाई बोल्न समय दिएका थिए।
उनले अनुसन्धान हुन्जेल गृहमन्त्री लामिछाने जिम्मेवारीबाट बाहिर रहनुपर्ने पनि बताइन्। ‘कांग्रेसको आग्रह छ, अनुसन्धान हुन्जेल गृहमन्त्रीज्यूले आफ्नो जिम्मेवारीबाट बाहिर बसुन्। एउटा संसदीय समिति बनाएर अनुसन्धानमा सहयोग गर्नुस्, उनले भनिन्।
उनताको पीडालाई केन्द्रमा राख्नुपर्ने पनि उनले बताइन्। ‘सहकारी पीडितको बचत फिर्ता गर्ने वातावरण बनाउनुपर्छ,’ उनले भनिन्।