आयरल्यान्ड वल्भ्समाथि नेपाल ‘ए’ को रोमान्चक जित
काठमाडौं। नेपाल ए ले तेस्रो टी-२० खेलमा आयरल्याण्ड ए माथि ३ रनको रोमाञ्चक जित हात पारेको छ। तीन खेलको सिरिज भने नेपालले २.१ ले गुमाएको छ।
२१४ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो। आयरल्याण्डका ग्यारेथ डेलानीले ३७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ६८ रन बनाए। मोर्गन टोपिङ ३७ बलमा ४ चौका र ४ छक्कासहित ६० रनमा पवन सरार्फबाट लङअनमा क्याच आउट भए।
एक समय ७.१ ओभरमा ५२/४ को अवस्थामा पुगेको आयरल्याण्डलाई पाचौं विकेटका लागि मोर्गन र ग्यारेथ डेलानीले १२९ रनको शानदार शतकीय साझेदारी गर्दै जितको आशा कायम राखेका थिए।
आयरल्याण्ड ए का ओपनर रस आडैरले १४ बलमा ५ चौका र १ छक्कासहित ३१ र तथा फिन ह्यान्ड २२ रनमा आउट भए। अन्तिम ओभरमा २० रन चाहिँदा राशिद खानले १६ रन खर्चेर १ विकेट लिँदै नेपाललाई रोमान्चक जित दिलाए।
नेपालको जितमा विपिन खत्रीले ४ ओभरमा १ मेडनसहित २३ रन खर्चेर ३ विकेट लिए। नारायण जोशी, कमलसिंह ऐरी र रासिद खानले १/१ विकेट लिए।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१३ रन बनाएको थियो। नेपालको जितमा आरिफ शेखले ४७ बलमा ७ चौका र ६ छक्कासहित ९३ रनको अविजित इनिङ खेलेका थिए। तीव्र गतिका बलर कमलसिंह ऐरीले अन्त्यमा ७ बलमा २ चौका र १ छक्कासहित महत्वपूर्ण १९ रन जोडेका थिए।
नेपालले ओपनर लोकेश बमलाई ८, देव खनाललाई ६ र विनोद भण्डारीलाई ११ रनमा गुमाएको थियो। चौथो विकेटका लागि बसिर अहमद र आरिफ शेखले ४७ रनको साझेदारी गरेका थिए। बसिर २१ बलमा ३ चौकासहित १९ रनमा एलबीडब्लू आउट भए।
पवन सरार्फ १३ र नारायण जोशी १ रनमा आउट भए। रासिद खानले १३ बलमा ३ छक्कासहित महत्वपूर्ण २४ रन जोडेका थिए।
आयरल्याण्डका फिन ह्यान्डले २, लियाम म्याकार्थी, म्याथ्यु फस्टर, ग्यारेथ डेलानी र गेभिन होईले १/१ विकेट लिए। नेपाल सुरुवाती दुई खेल २१ रन र ४० रनले पराजित हुँदा सिरिज गुमाइसकेको छ।
आयरल्याण्ड ए र नेपाल ए बीच अब एकदिवसीय सिरिज हुनेछ। पहिलो खेल बुधबार, दोस्रो शुक्रबार र तेस्रो आइतबार हुनेछ।