नुवाकोटमा तीन हप्तादेखि एसपी रिक्त
काठमाडौं। जिल्ला प्रहरी कार्यालय, नुवाकोट तीन हप्तादेखि निमित्तको भरम चलेको छ। गृह मन्त्रालय र प्रहरी नेतृत्वले जिल्लामा एसपी पठाउन सकेको छैन।
नुवाकोटका एसपी सञ्जयसिंह थापालाई सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेपछि गत १ चैतमा हटाइएको थियो । तर, नयाँ एसपी नुवाकोट पठाइएको छैन।
यसमा गृह र प्रहरी नेतृत्वको कमजोरी देखिएको छ। जाँचबुझ आयोगले एआइजी किरण बज्राचार्य,एसपी थापा र डिएसपीद्वय रुगम कुँवर र दुर्गा दाहालमाथि कारबाही सिफारिस गरेको थियो।
उनीहरूमाथि कारबाहीका लागि गृहले सहसचिव भरतमणि रिजालको नेतृत्वमा एक समिति गठन गरेको छ। समितिको सिफारिसअनुसार कारबाही हुने बताइएको छ।
उता डिएसपी कुँवरले भने कारबाही पुर्नविचारको माग गरी गृहमन्त्री रवि लामिछानेलाई निवेदन दिएका छन्। अन्य प्रहरी अधिकारी पनि आफूहरूमाथिको कारबाही रोक्न दौडधुपमा लागेका छन्।
सुन तस्करीमा संलग्न जीवन चलाउनेलाई फरार बनाएको, वाल्डो क्यासिनोलाई उन्मुक्ति दिएको लगायतको आरोप प्रहरी अधिकृतमाथि छ।