अबको शैक्षिक आन्दोलनको बाटो
हरि बिष्ट
पनि व्यक्तिको जीवन पद्धति परिवर्तन गर्न महत्त्वपूर्ण वस्तु शिक्षा हो । शिक्षा बाट प्राप्त उपलब्धिहरु मानवजातिका पूँजी हुन । जुन मानवजातिको हजारौं वर्षको अनुभव र अनुसन्धानबाट प्राप्त गरिएका हुन । यसकारण पनि शिक्षा समाज र मानव जीवनलाई सार्थक र समृद्ध बनाउनको निम्ति अपरिहार्य छ ।
अहिलेको सन्दर्भमा शिक्षा मौलिक हकको रूपमा समेत स्थापित भइसकेको भएता पनि अहिलेको शिक्षा समाजप्रति उत्तरदायी नभई निजी उत्पादन अर्थात चरम व्यक्ति केन्द्रीत (व्यक्ति प्रधान समाज सहायक) भएको छ।
यसप्रकारको शिक्षाको कारण आफ्नो निम्ति सबथोक गर्न तयार तर समाज अथवा सार्वजनिक हितका लागी सामान्य चिन्ता पनि नलिने अवस्था सिर्जना भएको छ।
यस्तो प्रकारको शिक्षा विकास हुनुको श्रेय राज्य प्रणाली लाई जान्छ,जुन अहिलेको अवस्थामा नेपालको दलाल पुँजीवादी संसदीय राज्य व्यवस्था हो । त्यही व्यवस्था अनुरुप नेपालको शिक्षा प्रणाली अगाडि बढिरहेको छ।
नेपालका शिक्षा क्षेत्रमा तमाम खाले विकृती विसंगती र फोहोरी प्रवृत्ति मौलाइरहेका छ्न। विभिन्न रूप र आवरणमा प्रकट भइरहेको दलालीकरण, माफियाकरण,निजीकरण, भ्रष्टिकरण र व्यापारीकरणका कारण विद्यार्थीको मानसपटलमा ‘Education is not just about going to school and getting a degree its about widening your knowledge and observing the truth about life भन्ने मान्यता हराइरहेको छ।
दलाल पुँजीवादी शिक्षा प्रणालीले शैक्षिक क्षेत्रलाई दलाल पुजीपतीहरूको गुलाम अथवा कारिन्दा उत्पादन गर्ने उद्योग मात्र ठान्दछ । यसको एक मात्र विकल्प भनेको वैज्ञानिक समाजवादी शिक्षा प्रणाली हो जुन हजारौ वर्ष तपस्या गरेपनि पुँजीवादी व्यवस्थाबाट प्राप्त हुन सक्दैन । त्यसको निम्ती वैज्ञानिक समाजवादी राज्य व्यवस्था नै एक अनिवार्य विकल्प हो।
नेपाली विद्यार्थीहरुले विभिन्न कालखण्डमा शिक्षा प्रणाली परिवर्तनका लागी मात्र नभई राज्य व्यवस्था नै परिवर्तनको लागी बलिदान, समर्पण र संघर्ष नगरेको भने होइन।
उपलब्धि हुदै नभएका पनि होइन तर विद्यार्थी आन्दोलनका नेतृत्वहरु दलिय राजनितीमा आउने विचलनसंगै उतैतिर सतिजाने परिपाटीका कारण शिक्षा क्षेत्रको मुद्दा, आन्दोलन र उपलब्धि विद्यार्थीको भावना विपरित व्यक्तिगत स्वार्थ, लोभका कारण सम्झौताहरूमा विसर्जन हुने गरेका छन् ।
विद्यार्थी आन्दोलन केही थान मान्छेहरु लाई सत्तामा जाने साधनको रूपमा प्रयोग गरेका छन तर विद्यार्थी आन्दोलनको एउटा हिस्सा अनवरत सड़क बाघको रुपमा विद्यार्थी आन्दोलनको रातो क्रान्तिकारी झण्डा सिरमा राखेर सबैखाले कष्टलाई सामना गर्दै लम्किरहेको छ।
वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको बाटोमा हिड्ने विद्यार्थी नेताहरुलाई जुनसुकै बाहानामा सिध्याउन जोरजुलुमका साथ दलाल राज्यबाट लागीरहेकै छ।तर दलाल संसदिय राज्य व्यवस्थाको षड्यन्त्रको प्रवाह नगरि अगाडी बढ्नुको विकल्प छैन ।
यसर्थ अब युवा विद्यार्थीहरु आफ्नो र समाजको सुन्दर भाग्य, भविष्य निर्माणको निम्ति क्रान्तिकारी विचारको बाटोमा गोलबन्द हुनुको विकल्प छैन। व्यक्तिको भविष्य कुनै एकांकि अवधारणा होइन, यो राज्य र राजनितिको महत्वपूर्ण आयाम हो।
कवि नाजिम हिक्मत भन्नुहुन्छ “म जलिन भने तिमी पनि जल्ने छैनौ, हामी कोही जलेनौ भने, अध्यारो कसरी हट्ला”। यही कविताको मर्मलाई शिरोधार्य गर्दै जल्ने बेला आएको छ।
विद्यार्थीहरुको सार्थक सपना वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको संघर्षको जिम्मा युवा विद्यार्थीको काँधमा आएको छ। अबको एक मात्र विकल्प ‘वैज्ञानिक समाजवादी व्यवस्थाको नेतृत्वमा वैज्ञानिक समाजवादी शिक्षाका लागि सिर्जनशिल दिमाग र कलम यही बाटोमा प्रयोग गरि दलाल पुँजीवादी शिक्षा प्रणालीको भण्डाफोर गरौं।
नेपाली क्रान्तिकारी विद्यार्थी आन्दोलनको इतिहास विशुद्ध विद्यार्थी आन्दोलन मात्रै होइन समग्र जनहित र अधिकारको संघर्षलाई समायोजित गर्ने राजनीतिक शैक्षिक कार्यदिशा सँग अन्योन्याश्रित छ।
इतिहासको अध्ययन र लेखन गर्ने कार्य आफैमा कठिन कुरा हो तर पनि नेपालको क्रान्तिकारी आन्दोलनको प्रक्रियामा हेर्ने हो भने विभिन्न आरोह-अवरोह उतारचढावमा हुने गर्दछन।
विगत देखि नेपालको शैक्षिक आन्दोलन विभिन्न जटिलता बिच अगाडि बढीरहेको छ । त्यस कारण पनि विद्यार्थी आन्दोलनले पुर्ण रूपमा सफलता हासिल गर्न सकेको छैन।
अब पनि यो प्रक्रिया लाई क्रमभङ्ग गर्दै विगतको इतिहास नदोहोर्याई नयाँ सुनौलो इतिहास रच्नु पर्दछ। सामाजिक क्रान्ति आम जनसमुदाय र युवा विद्यार्थीहरूको जुझारु एवं आत्मीय सहभागिता द्वारा मात्र सफल हुन्छ।
आज अगाडि बढिरहेको हाम्रो क्रान्तिकारी आन्दोलनको सन्दर्भमा पनि यही नियम सत्य हुन्छ। तसर्थ वैज्ञानिक विचारक युवा विद्यार्थीहरूको मनोविज्ञानमा निर्माण गरेर मात्र आन्दोलन सफलतामा पुग्न सक्छ र खराब शासनका विरुद्ध हजारौं युवा विद्यार्थी र जनतालाई एकीकृत गरि संघर्षमा अगाडि बढन सकिन्छ।
यस सन्दर्भमा माओले युवा विद्यार्थीहरूलाई “गाउँ जाऊ र किसान मजदुरसँग अन्तरघुलित होऔं”, “जनताको सेवा दिलो ज्यानले गर भनेर दिएको शिक्षा निकै मर्मस्पर्शी छ।
नेपालको सन्दर्भमा पनि हेर्ने हो भने आज नेपालका श्रमजीवी आम जनता , युवा-विद्यार्थीका लगायत सबै दलाल संसदिय पुजीवादी सत्ताको फासिवादी अत्याचारको शिकार भइरहेका छन्।
त्यसको प्रतिरोध गर्दै नेपालको शैक्षिक आन्दोलनलाई अगाडि बढाउदै आम नागरिकलाइ नयाँ क्रान्तिको सन्देश दिन आजको आवश्यकता हो। क्रान्ति सफल पार्न सम्पूर्ण युवा विद्यार्थीहरुले आम जनसमुदाय माझ व्यापक वैचारिक बहसमा अग्रसर हुन जरुरी छ।
नेपाली नौजवान युवा विद्यार्थीहरू ७ दशकदेखि लडिरहेका छन्। क्रान्तिको निर्णायक मोडमा पुग्दा नेतृत्वले पुरानो सत्ता सामु आत्मसमर्पण गरेको कारण युवा विद्यार्थीहरुले क्रान्तिकारी आन्दोलनमा धोका व्यहोर्नु परेको छ।
राष्ट्र र जनता को आन्दोलनलाई दलाल संसदिय पुजीवाद बाट सदाको निम्ति मुक्त गर्न र अवसरवादी विषाक्त विचारको मुकाविला गर्न नौजवान युवा विद्यार्थीहरूले कठिन तर गौरवपूर्ण कार्य पूरा गर्नु पर्नेछ।
पछिल्लो समय केहि गलत प्रवृतिसहित विद्यार्थी आन्दोलनको नाममा विभिन्न संसदवादी संगठनहरु विकृती फैलाईरहेका छन । तथापि अन्तर्राष्ट्रिय, राष्ट्रिय आन्दोलनका अनुभवहरूको सार पकडदै विद्यार्थीहरूले वैचारिक, राजनैतिक र व्यावहारिक प्रयोगमा नयाँ योगदान पुयाउनु पर्नेछ।
नयाँ नेपालको भविष्य नौजवान युवा विद्यार्थीहरूको सोचाइ र व्यवहारसँग अन्तरसम्बन्धित छ । त्यसैले विचारधारात्मक र राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबथोक को निर्धारण गर्नेछ भन्ने माओवादी सच्चाइ हाम्रो अगाडि विगत देखि वर्तमान सम्मको जीवन-व्यवहारमा पुष्टि हुँदै आएको छ।
राजनीतिक कार्यदिशाको सवाल उठाउँदा जहिले पनि नेपाली क्रान्तिकारी विद्यार्थी आन्दोलनको प्रमुख खतरा दक्षिणपन्थी संशोधनवादी कार्यदिशा नै रहिआएको देखिन्छ।
यसको एक प्रमुख लाक्षणिक विशेषता के रहेको छ भने रणनीति लक्ष्य विरुद्ध कार्यनीतिक कार्यक्रम खडा गर्नु। यसको असरले विद्यमान शैक्षिक प्रणालीमा आमूल परिवर्तनको रणनीति र सुधारात्मक कार्यनीतिको तादम्यता कहिल्यै मिल्न सकेन।
रणनीतिको सेवा नगर्ने कार्यनीति अथवा रणनीतिक उद्देश्यसँग नगाँसिएको कार्यनीतिकै कारण शैक्षिक आन्दोलन लामो समयसम्म दिशाविहीन बन्न पुग्यो।
यहाँ स्पष्ट हुनुपर्ने महत्त्वपूर्ण विषय के छ भने सही राजनीतिक नेतृत्व नपाएको र सर्वहारावर्गीय मुक्ति आन्दोलनसँग एकाकार नभएको शैक्षिक आन्दोलन अन्ततः अर्थवादमा फस्ने निश्चित हुन्छ।
यसरी राजनीतिक सत्तासँग नजोडिएको शैक्षिक आन्दोलन प्रकारान्तरले घोर अकर्मण्यतामा फस्ने र दलाल संसदिय पुजीवादी व्यवस्थाको नै सेवा गर्ने खतरा हुन्छ।
लेखक : हरि बिष्ट अनेरास्ववियु (क्रान्तिकारी ) केन्द्रिय सचिवालय सदस्य तथा ६ नम्बर प्रदेश इन्चार्ज