सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्। मुख्यमन्त्री शाहले बिहीबार बेलुका प्रदेश प्रमुख नजिर मियाँको निवासमा पुगेर राजीनामा बुझाएका हुन्।

मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको थियोे। तर मुख्यमन्त्रीकै आग्रहमा साँझ ५ बजेसम्मका बैठक सारिएको थियो। विश्वासको मत पाउने सम्भावना नभएपछि बैठक अघि उनले राजीनामा दिएका हुन्।

मुख्यमन्त्रीको राजीनामापछि प्रदेशसभा बैठक स्थगित भएको छ।

केन्द्र सरकारको नेतृत्व गरिरहेको माओवादीले गठबन्धन फेरेसँगै कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकार संकटमा परेको थियो। प्रदेश सभाको सबभन्दा ठूलो दल कांग्रेसका १८ सांसद छन्। नाउपा ७, राप्रपा १ र स्वतन्त्र सांसद १ लाई मिलाएर सरकार जोगाउने उनको प्रयास थियो।