एनआईसी एशिया बैंकले ल्यायो निष्क्रिय कर्जामा आकर्षक छुट योजना
काठमाडौं । ऋण असुलीमा निकै कडा मानिएपनि न्यायाधिकरणमा सर्वाधिक निवेदन पेश गर्नु पर्ने बाध्यतामा पुगेको एनआईसी एशिया बैंकले खराब कर्जा उठाउन आकर्षक छुट योजना सार्वजनिक गरेको छ।
बैंकले सार्वजनिक गरेको योजना अनुसार चैत्र मसान्तसम्ममा निष्क्रिय कर्जाकारुपमा अघिल्लो त्रैमाससम्ममा सूचीकृत भएका ऋणीहरूले छुटसहित ऋण तिर्न सक्नेछन्।
बैंकका अनुसार २०८० चैत्र मसान्त भित्र पूर्ण रूपमा चुक्ता भुक्तान गरेमा २०८० चैत्र मसान्तसम्म लाग्ने जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र ब्याज रकममा समेत छुट पाइने बैंकले जनाएको छ।
कर्जाको वर्गीकरण अनुसार कमसल कर्जामा १० प्रतिशत, शंकास्पद कर्जामा १५ प्रतिशत र खराब कर्जामा २० प्रतिशत छुट दिने बैंकले जनाएको छ।
देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न यस्तो छुट योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ।
बैंकले २०८० पौष मसान्तमा प्रचलित नियमनकारी व्यवस्था अनुसार निष्क्रिय कर्जाको रूपमा वर्गीकरण भएका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले आफ्नो २०८० चैत्र मसान्तसम्मको ब्याज तथा किस्ता रकम पूर्ण रूपमा चुक्ता भुक्तान गर्नुको साथै सम्पूर्ण कर्जा रकम नै प्रदान गर्ने योजना ल्याएको छ।
मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालू पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा यस्ता छुट हुनेछ।
बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकहरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्ने जनाएको छ।