ट्वान्टी–२० विश्वकपका लागि नेपालको जर्सी सार्वजनिक
काठमाडौं। आइसिसी ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली क्रिकेट राष्ट्रिय टोलीको जर्सी सार्वजनिक भएको छ। आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इण्डिजमा संयुक्त रूपमा ट्वान्टी–२० विश्वकप आयोजना हुँदैछ। सो विश्वकप खेल्ने नेपाली राष्ट्रिय टोलीको जर्सी सार्वजनिक भएको हो।
नेपाल क्रिकेट संघ (क्यान)ले सोमवार आयोजना गरेको कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्यसचिव टंकलाल घिसिङले उक्त जर्सी सार्वजनिक गरेका हुन्।
मन्त्री श्रेष्ठले विश्वकप खेल्न नेपालको जर्सी सार्वजनिक गर्न पाउँदा खुसीको क्षण रहेको उल्लेख गर्दै नेपाली क्रिकेटले गर्दा समग्र खेलकुदमा नै उत्साह बढेको बताए।
राखेपका सदस्यसचिव घिसिङले एकै वर्ष नेपालको दुई टोली (नेपालको यु–१९ पुरुष टोलीको विश्वकपमा सहभागिता) ले विश्वकप खेल्नु गौरवपूर्ण अवस्था रहेको उल्लेख गर्दै नेपाली टोलीको सुन्दर जर्सीसँगै प्रदर्शन पनि सुन्दर हुने आशा व्यक्त गरे।
नेपालले दोस्रो पटक ट्वान्टी–२० विश्वकप खेल्न लागेको हो। क्यानका सचिव पारस खड्काको नेतृत्वमा नेपालले सन् २०१४ मा पहिलो पटक टवान्टी–२० विश्वकप खेलेको थियो।
सोमवार जर्सी सार्वजनिकमा क्यानका सचिव पारस खड्काले फरक भूमिकामा रहेर विश्वकपको जर्सी सार्वजनिक गर्ने अवसरमा साक्षी हुनु पाउनु गौरवको क्षण रहेको बताए।
यद्यपि, खेलाडी र प्रशासकका रूपमा विश्वकप जर्सीमा सार्वजनिक गरेका पारसले यो ऐतिहासिक क्षणमा राष्ट्रिय टोलीलाई सहभागी गराउने आवश्यकता देखेनन्।
क्यानले जर्सी सार्वजनिक कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान वा कुनैपनि खेलाडीलाई भने समावेश गरेनन्। १० वर्षपछि विश्वकप खेल्न लागेको नेपाली क्रिकेटका लागि ऐतिहासिक क्षण रहेको अवसरमा राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल वा कुनैपनि खेलाडीलाई समावेश नगराउनु क्यानको खराब पक्ष हो।
उक्त विश्वकप खेल्ने जर्सी खेलकुद पोसाक कम्पनी केल्मी नेपालले निर्माण गरेको क्यानले जानकारी दियो। केल्मी नेपालका निर्देशक उत्तम न्यापानेले उक्त जर्सीमा सूर्य किरण र गोल्डेन कलर रहेको र जसको प्रतिक वारियरका साथै उदाउँदो रहेको जानकारी दिए।
न्यौपानेले जर्सीमा गैंडाको र सगरमाथाको चित्रका साथै दुई काँधको झण्डा राष्ट्रको समावेश गरिएको बताए। केल्मी नेपालले छिट्टै कुनै प्रतियोगितामार्फत उक्त जर्सी नेपाली राष्ट्रिय टोलीलाई उपलब्ध गराउने र समर्थकका लागि पनि बुकिङ खुला गरिने जानकारी दिएका छन्।—न्युज एजेन्सी नेपाल