आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौं। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले सुदूरपश्चिम,कर्णाली,लुम्बिनी र गण्डकी प्रदेशमा साधरणतया बदली रहेको छ।
आज दिउँसो गण्डकी,लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।
कोशी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरू तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा वर्षासँगै हिमपातको सम्भावना पनि रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।