घरजग्गा दलाल मालपोतमा,गाडी दलाल यातायातमाः देश र जनताको दलाल गर्ने वालुवाटार र सिंहदरबारमा
अनुसा थापा
बाबुराम भट्टराईले प्रधानमन्त्री हुने एउटा सार्वजनिक कार्यक्रममा भनेका थिए,हामी टिभी हेर्ने दर्शक मात्र हौं,रिमोर्ट अर्कैको हातमा छ। उनले भनेको कुरा पुष्टि पनि भइसकेको छ। नेपालको राजनीतिकमा भारतको धेरै चलखेल हुने गरेको आम सर्वसाधारण खुलेआम रुपमा भन्छन्।
२०६४ चैत २८ गते दुई क्षेत्रबाट चुनाव हारेका माधवकुमार नेपाल देशको प्रधानमन्त्री भयो। त्यसमा भारतकै साथ सहयोग रहेको सर्वसाधारण बताउँछन्। हिजो जनयुद्धको बेला पनि वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘भारत’ मै लुकेर बसेका हुन्। आन्दोलनका क्रममा जनता मरे, प्रचण्ड भने भारतमा गएर बसे।
नेपालमा एक जना पनि नेता नभएको सर्वसाधारणको भनाइ छ। कुनै भारतको त कुनै अमेरिकाको ‘दलाल’ हुन्। बुढाखाडा भारततिर, युवा अमेरिकातिर। कार्यकर्ताले हाम्रो पार्टीको नेता भनेर के गर्नू,जनताले नेता भन्नुपर्यो नि। नेपालमा साँच्नै नै नेता भएको भए आफ्नो देश र जनताका लागि काम गर्थे।
नेताहरु नभएरै हो, नेपाल र नेपाली बर्बाद भएको। जसले आफूलाई नेता भन्छन् ती अर्काको झोले हुन्। देशलाई तहसनहस बनाएर विदेशी मुलुकको हितमा काम गर्छन्। यस्ता नेताका कारण आज अन्तर्राष्ट्रियस्तरमा नेपालको बद्नाम भइरहेको छ। हामीकहाँ कस्तो बन्यो भने केही सानो निर्णय लिनुपर्यो भनेपनि छिमेकीकै पुग्छन्।
नेताहरुलाई थोरै पेट दुख्नुपर्छ, भारत दौडिहाल्छन्। नेता मात्रै होइन्, सरकारी कर्मचारीको पनि भारतप्रति झुकाव बढेको सर्वसाधारणको बुझाइ छ। सरुवा बढुवा गर्नुभयो भनेपनि भारतीय राजदूतावास धाउने गरेको बताइन्छ। छिमेकी देशले कहिले कसलाई प्रयोग गर्छ, आफूले फाइदा लिन्छ।
त्यसैले यस्ताबाट विकास हुन्छ भनेर सोच्नु बेकार छ। बाबुराम भट्टराईले पहिल्यै भनिसकेका थिए, रंग अहिले देखिरहेको छ। आफ्नो पद टिकाउनका लागि नेपालको धेरै भूभाग राजनीतिक दलका नेताहरुले छिमेकीलाई बुझाए। हाम्रो महत्वपूर्ण मन्त्रालयको नेतृत्व सम्हालेका मन्त्रीहरुको चर्तिकला देखेर सर्वसाधारणलाई लाज लाग्न थालिसकेको छ।
मुलुकका अर्थमन्त्री वर्षमान पुन केही दिनअघि भारतले दिएको स्कुल बस र एम्बुलेन्स लिन दूतावासमै पुगे। नेपाली जनताले कर तिरेका छन्, विदेशमा रगतपसिना बगाएर नेपालीले रेमिट्यान्स पठाएका छन्। गम्भीर प्रश्न के हो भने,यो पैसा कहाँ गयो ? नेता र सरकारी कर्मचारीले झ्याम्म बनाएका होइनन् ?
विकास भयो भनौं भने देशको अवस्था उही छ। एउटा स्कुल बस र एम्बुलेन्सका लागि समेत अर्काको भर पर्नुपर्छ भने योभन्दा लज्जास्पद कुरा के होला ? मरिचमान श्रेष्ठ प्रधानमन्त्री हुँदा भारतले नेपालमा नाकाबन्दी गर्यो। तर, उनी झुकेनन्। उनले हेलिकप्टरमार्फत अन्य मुलुकबाट इन्धन र नुन ल्याएर जनताको आवश्यकता टारे।
मूल्य पनि बढाएनन्। भारतले एक साता नाकाबन्दी गरिदिने हो भने अहिलेका नेताहरुको सातो उड्छ। भारतको एउटा कुनै दूत आउँदा अघि र पछि गर्ने यिनीहरुको भारतको अगाडि एक शब्द निस्किँदैन्। के नाकाबन्दी खोल्नु ? भारतले एक महिना नाकाबन्दी गरिदियो भने नेपाली भोकभोक मर्नुपर्ने अवस्था आउँछ।
किन कि नेताहरुले नेपालका उद्योग कलकारखाना सबै बन्द गराए । भारतको बजार स्थापना गर्नका लागि भएका उद्योग कलकारखाना बन्द गरियो। खेतीयोग्य जमिन मासेर घरैघर बनाइयो। उब्जनी गर्नलाई जमिन छैन्। मरिचमानको पालोभन्दा सयौं गुणा बढी गाडी बढेको छ।
भारतले पेट्रोल डिजेल पठाएन् भने ती गाडी जम्मै थन्किन्छन्। ग्याँस आएन् भने खाना पकाउनै सकिँदैन्। नेपाल यस्तो भुमरीमा फस्यो कि निस्किने कुनै उपाय नै छैन्। आफ्नो व्यक्तिगत फाइदाका लागि नेता भनाउँदाहरुले देश सकाइदिए। हिजो मरिचमानले लिएको अडान लिन सक्ने स्थिति अहिले छैन्।
नेताहरुले मरिचमानले देखाएको हिम्मत, राष्ट्रियतालाई ‘वालुवामा पानी’ बनाइदिए । विदेशी ऋण लिन क्रम पछिल्ला दिन निकै बढेको छ । एक जना नेपालीको टाउकोमा ८२ हजार विदेशी ऋण पुगिसकेको छ । २०७८ सालको जनगणनाले नेपालमा २ करोड ९१ लख ६४ हजार ५७८ जनसंख्या छ।
कतिपय त विदेशमा छन्। तर, यी सबै ऋणी भएका छन्। भर्खर जन्मिएको बच्चासमेतले ऋणको भारी बोकेको छ। ऋण लिएको लिर्यै छ तर कसरी तिर्ने भन्ने ? भिजन छैन्। जनतामा भ्रम छर्ने,सञ्चारकर्मीलाई ढाँट्ने र आफ्नो कुर्सी बचाउने खेल चलिरहेको छ। यहाँ आम्दानीको स्रोत केही पनि छैन्।
राजश्व उठाउन त कलकारखाना चाहिएला। त्योपनि छैन्। अब सरकारी खर्च कसरी धान्ने ? विदेशीबाट लिएको ऋण कसरी तिर्ने ? एउटाबाट ऋण लिने,अर्कोको साँवाब्याज तिर्ने खेल चलिरहेको छ। नेपाल धितो राखेर यी दलालहरुले खर्बौं रुपैयाँ ऋण लिएका छन्। नेपाल भन्नेबित्तिकै नक्साभित्रैको सबै पर्छ।
जनता भने आफ्नो यति सम्पत्ति रहेको बताउँछन्। नेताले त्यो सब धितो राखिसकेको जनताले बुझेका छैनन्। गणेशमान सिंहले ‘नेपाली जनता भेडा हुन्’ भनेर त्यत्तिकै भनेका रहेनछन्। नेताहरुले देश सर्वस्व बनाइसके,तैपनि हामी कार्यकर्ता भन्दै हिँड्छन्। जनताहरु कोही खान नपाएर आत्महत्या गरेका छन्, उपचार गर्न नसकेर मर्ने दिन कुरेर बसेका छन्।
दलालहरु भने देश धितो राखेर मोजमस्ती गर्छन्। कोही यिनको विरोधमा सडकमा आउन सक्दैनन्। दलालहरुले अहिले आफू बच्न तीनवटा रणनीति अप्नाएका छन्। पढेकालाई अष्ट्रेलिया,अमेरिका,नपढेकालाई खाडी। अलिक बाठाटाठालाई सरकारी जागिरमा नियुक्ति गरिरहेका छन्।
करारमा भटाभट राख्छन्, आफ्नो पार्टीको कार्यकर्ता बनाउँछन्। अनि यिनको विरोध कसले गर्छ ? कि राजदूत बनाउँछन्,कि सरकारी जागिर लगाउँछन्। जसरी भएनि आफू बचिरहेका छन्। मानव सबैभन्दा चेतनशील प्राणी हो। तर, हाम्रो चेतना कहाँ गयो ? जनताले आवाज नउठाउँदा नेताहरुले मनोमानी चलाएको प्रष्टै छ।
नेताहरुले देश बेच्न लागिसके, हामी टुलुटुलु रमिता हेरेर बसेका छन्। नेपाली नागरिकता त्यागेर अमेरिकन नागरिक भइसकेका रवि लामिछाने नेपाल आए। उनले नेपालकै कानुनलाई चुनौती दिए। सबैभन्दा गम्भीर विषय उनले सहकारी नै डुबाइदिए। यता, उनकै कारणले पत्रकार शालिकग्राम पुडासैनी आत्महत्या गर्न बाध्य भए।
नेपालको पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेपालको पानी पिउँदैनन्। विदेशबाट आयात गरिएको पानी खान्छन्। अन्य नेताले नेपालको खानेकुरा खाँदैनन्। किन कि यहाँ केही उब्जनी नै हुँदैन्। विदेशबाट धमाधम आयात गर्ने, अर्को पेट भर्ने। यस्ताले देश र जनताको गीत गाउन सुहाउँछ ?
दलाल हरेक क्षेत्रमा छन्। सेयर, घरजग्गा, यातायात, औषधी, तरकारी, माछामासु सबैतिर दलाल छन्। तर, तिनले देश बेच्दैनन्। एक सयको सामान पाँच सयमा बेचेर यिनीहरुले सोझासाझीलाई ठग्छन्।
यद्यपि, देशचाँहि यिनीहरुले देश धितो राखेका छैनन्। जनताले तिरेको करबाट तलबभत्ता खाएका, लुगा लाएका सुरक्षाकर्मीहरु त्यस्ता एजेण्टको अगाडिपछाडि हिँडिरहेका छन्।
सुरक्षाकर्मीहरुले यस्ताको अनुहार चिन्नुपर्छ। यस्ता दलालहरुलाई सुरक्षा दिएर के फाइदा ? यिनीहरुकै कारण देश डुब्यो। जनताले नेताको अघिपछि लाग्नु र सलाम ठोक्नु भनेर सुरक्षकर्मी पालेका होइनन्। देशको भूभाग सुरक्षा गर्नु र विदेश हस्ताक्षेप रोक्नु भनेर पालेका हुन्।
छिमेकीले नेपालको भूभाग रातारात मिचिरहेको खबरहरु सार्वजनिक भइरहेको हुन्छ। तर, कसैलाई मतलब छैन् ? जनता व्यक्तिगत स्वार्थमै रमाएका छन्।
देशमा के भइरहेको छ ? तिनलाई चासो छैन्। जसको फाइदा नेताहरुले उठाए।जनता दलालहरु मालपोत र यातायातमा हुन्छ भन्ने ठान्थे।तर, सिंहदरबार र वालुवाटारमा सबैभन्दा धेरै दलाल छन्।