नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य
काठमाडौं। एसिसी प्रिमियर कपको तेस्रो स्थानका लागि जारी खेलमा नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ।
ओमानको अल अमिरत ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३९ रनको योगफल तयार पारेको हो।
नेपालका दीपेन्द्रले २९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाए । अन्तिम ओभरमा दीपेन्द्रले अजिज खानलाई दुई चौका र दुई छक्कासहित कुल २० रन प्रहार गर्दै जितको आशा बचाएका थिए । सन्दीप जोराले २३ बलमा १ चौकासहित सर्वाधिक २२ रन बनाए ।
शुक्रबार सेमिफाइनल खेलमा युएईसँग ११९ रन बनाउँदै एसिया कप खेल्ने अवसर गुमाएको नेपालले हङकङविरुद्ध पनि राम्रो प्रदर्शन गर्न सकेन।
लगातार तेस्रो खेलमा शून्यमा आउट हुनेक्रममा ओपनर कुशल भुर्तेल तीव्र गतिका बलर आयुश शुक्लाको पहिलो ओभरको दोस्रो गुड लेन्थको बलमा एज लागेर विकेटकिपर जिशान अलीबाट समातिए। तेस्रो नम्बरमा सरप्राइज रुपमा आएका सोमपाल कामी ७ बलमा २ चौकासहित १२ रनमा शुक्लाकै बलमा क्याच आउट हुन पुगेका थिए।
आशिफ शेख शुक्लाको पाँचौं ओभरको पाँचौं बलमा खराब सट खेल्दै ५ रनमा निजकात खानबाट क्याच हुँदा नेपाल ३२–३ को अवस्थामा थियो। कप्तान रोहित पौडेल अतिक इकबालको आठौं ओभरको पाँचौं बलमा रोहित २१ रनमा एलबीडब्लू आउट भए। रोहितले १९ बलमा २ चौका प्रहार गरे।
कुशल मल्ल स्पिनर यासिम मुर्तजालाई १२ औं ओभरको दोस्रो बलमा लगातार दोस्रो छक्का हान्ने धुनमा लङअनमा निजाकत खानबाट १३ रनमा क्याच आउट भएपछि बलियो योगफलको सम्भावना टाढिएको थियो ।
१४ औं ओभरको तेस्रो बलमा सन्दीप जोरा र चौथो बलमा गुलशन झा ६ रनमा लगातार रन आउट भएपछि नेपाल ८७–७ को अवस्थामा पुगेको थियो। हिटर करण केसी स्पिनर एहसान खानको बलमा ३ रनमा एलबीडब्लू आउट भए।
हङकङका आयुश शुक्लाले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए। अतिक इकबाल,यासिम मुर्तजा र एहसान खानले १–१ विकेट लिए ।