एसीसी प्रिमियर कप: नेपाल हङकङसँग पराजित

फाइल तस्वीर

काठमाडौं। एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको छ। प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो। यसअघि नेपाल सेमिफाइनलमा यूएईसँग पराजित भएको थियो।

नेपालले प्रस्तुत गरेको १ सय ४० रनको लक्ष्य हङकङले अन्तिम ओभरमा ६ विकेटको क्षतिमा पछ्यायो। हङकङका लागि अन्सुमन राथले नटआउट रहँदै सर्वाधिक ६५ रन बनाए।

त्यस्तै, बाबर हायातले २६ तथा एजाज खानले १२ रन बनाए। नेपालका लागि सोमपालका कामीले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो। नेपालका लागि फेरि एक पटक दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाए। उनले यस क्रममा ४ चौका र ३ छक्का हिर्काए।

नेपालले खेलमा खराब सुरुवात गरेको थियो। कुशल भुर्तेल फेरि एक पटक शून्य रनमा आउट भए। तेस्रो ओभरमा सोमपाल कामी १६ रन बनाएर आउट भए। लगत्तै ५ रन बनाएर आशिफ शेख पनि पभेलियन फर्किए।

त्यसपछि कप्तान रोहित पौडेल र सन्दीप जोराले नेपालको इनिङ्स सम्हालने प्रयास गरेका थिए। जोराले २३ बलमा २२ रन बनाए भने कप्तान पौडेलले १९ बलमा २१ रन बनाए।

कुशल मल्ल १३ रन बनाएर आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। हङकङका आयुश शुक्लाले ३ तथा अतिक इक्बाल, यासिम मुर्तजा र इशान खानले १–१ विकेट लिए।