कतारका राजालाई विमानस्थलमा राष्ट्रपतिले स्वागत गर्ने
काठमाडौं । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन्। उनी राष्ट्रपति रामचन्द्र पौडेलको औपचारिक निमन्त्रणमा दुईदिने भ्रमणका लागि आज काठमाडौं आउन लागेका हुन्।
पहिलो पटक नेपालको राजकीय भ्रमणमा आउन लागेका कतारका अमिर आज साँझ साढे ४ देखि साँझ ५ बजेसम्मभित्र नेपाल आइपुग्ने तालिका छ। उनको आगमनको अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदा समेत दिएको छ।
कतारी अमिरलाई स्वागत गर्न राष्ट्रपति पौडेल आफैं विमानस्थल जानेछन्। उनको सवारीको दौरान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे ४ देखि साँझ ५ बजेसम्म आधा घण्टा बन्द हुनेछ।
परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीले आजै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गर्ने कार्यक्रम रहेको छ। उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्नेछन्।
भ्रमणको दोस्रो दिन अमिर थानीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग द्विपक्षीय वार्ता गर्ने कार्यतालिका छ। वार्तापछि दुवै नेता द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनेछन्।
यो भ्रमणबाट कतार र नेपालबीचको आत्मिय सम्बन्ध अझ सुमधुर हुनाका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताएका छन्। उनी दुई दिने भ्रमण सकेर बुधबार स्वदेश फर्किनेछन्।