बिहे घरमा आगलागी हुँदा दुईजना घाइते, ६ लाखको क्षति
सर्लाही। सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा रु छ लाखको क्षति हुनुका साथै दुई जना घाइते भएका छन्। बलरा नगरपालिका–६, मिर्जापुरका रामचन्द्र महतोको खपडाले छाएको घरमा गएराति आगलागी हुँदा उक्त क्षति भएको हो।
आगलागीबाट छोरीको विवाहका लागि राखिएका लत्ता कपडालगायत सामग्री जल्दा रु छ लाख बराबरको क्षति भएको जिल्ला प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए। बिजुलीको तार सर्ट भएर आगलागी भएको हो।
घरमा आगो लागेपछि सामान निकाल्न खोज्दा घरधनी महतोसहित दुई जना घाइते भएका हुन् । घाइतेको दुवै हात र खुट्टा जलेका प्रहरीले जनाएको हो। अर्का स्थानीय २३ वर्षीयका राज मङ्गलको दाहिने हात जलेको छ। उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
यसैबीच, गए राति जिल्लाको कविलासी नगरपालिका–२, पिपरियामा भएको आगलागीबाट स्थानीयको ८० हजार मूल्य बराबरको परालको कुन्यू नष्ट भएको छ। आगलागीबाट सोही स्थानका वारिस शेख, ह्रदय राय, बहादुर राय र विजिन्दर पासवानको कुन्यू जलेको हो।
दुवै स्थानमा लागेको आगो स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र वारुणयन्त्रको सहायतामा निभाइएको थियो।
आगलागीबाट ७ घर जलेर नष्ट
काठमाडौं। रौतहटको देवाहि गोनाही– १ करुनियास्थित आगलागीबाट ७ वटा घर जलेर नष्ट भएका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मंगलबार अपराह्न भएको आगलागीबाट ७ घर जल्दा लाखौँको क्षति भएको छ।
विद्युतको तार सर्ट भएर आगलागी हुँदा स्थानीय साबिर हुसेन,नजारुल अन्सारी,अनसारुल अन्सारी,ईद महमद,मजिद अन्सारी, सोबराती अन्सारी र अलिशेर अन्सारीको घर जलेर नष्ट भएका हुन्।
आगलागीबाट अन्न, लत्ताकपडा, भाडा, नगदसहित घरहरू जलेर पूर्ण रूपमा नष्ट हुँदा कुल १६ लाख ९० हजार बराबरको क्षति भएको छ। प्रहरी र स्थानीयको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।