जसपा कार्यकारिणी समितिको बैठक आज बस्दै,यी एजेन्डामा छलफल हुने
काठमाडौं। जनता समाजवादी पार्टी नेपालले महाधिवेशनको एजेन्डा तय गर्न लागि कार्यकारिणी समितिको बैठक बोलाएको छ।
बालकुमारीस्थित पार्टी कार्यालयमा आज बस्ने कार्यकारिणी समितिको बैठकमा महाधिवेशनको तयारीको समीक्षा र एजेन्डा तय हुने जसपाका कार्यकारिणी सदस्य एवं प्रवक्ता मनिष सुमनले बताए।
जसपाको महाधिवेशन जेठ २७ गतेदेखि २९ गतेसम्म जनकपुरमा हुने तय भएको छ। महाधिवेशनका लागि विभिन्न दस्ताबेज लेख्ने काम सकिएको छ।
जसपाका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा राजनीतिक प्रतिवेदन र पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा पार्टीको नीति तथा कार्यक्रमको मस्यौदा लेखन काम सम्पन्न भएको छ।
ती प्रतिवेदनको बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ। साथै, पार्टीको सङ्गठित सदस्य तथा महाधिवेशन प्रतिनिधिको बारेमा पनि छलफल हुने बताइएको छ।
सङ्गठित सदस्यको नाम प्रदेशबाट केन्द्रीय कार्यालयमा आइसकेका छन्।सो नामलाई अन्तिम रूप दिने काम सङ्गठन विभागले गरिरहेको छ।चाँडै नै सङ्गठित सदस्यको नाम टुगों लगाएर महाधिवेशन प्रतिनिधि चयनतिर लाग्ने प्रवक्ता सुमनले बताए।