शोषक,सामान्तीहरुलाई देशबाट लखेट्ने बेला भएन र ?
रुषा थापा
घर चलाउन पनि आम्दानी र खर्चबीच सन्तुलन मिलाउन आवश्यक छ। किनकि आम्दानीभन्दा खर्च बढी भएमा धान्न सकिदैँन। ऋण लिनुपर्छ। र, पुख्र्यौली सम्पत्ति भएकाहरुले त त्यो पनि बेचेर खर्च धान्छन्। आफ्नो घर चलाउन व्यक्तिले समयमै सोचविचार वा सही निर्णय नगरेमा उसले पछि त्यसको ठुलो नोक्सान व्यहोनुपर्छ।
झन् सरकार त देश र जनताको अभिभावक हो। अनि सरकारले होश पुप्याएन भने देश र जनताको अस्तित्व नै संकटमा पर्न सक्छ। सरकारले पनि आम्दानी र खर्चबीच सन्तुलन कायम राख्न जरुरी छ। हाम्रो देशमा थुप्रै व्यक्ति अर्थमन्त्री भए, प्रधानमन्त्री बने। ठूल्ठुल्ला राजनीति भाषण गरे। तर, अर्थको विषयमा भने कसैलाई केही थाहा भएन।
अर्थको विषयमा केही पनि थाहा नभएका व्यक्तिहरु नै देशको अर्थतन्त्र चलाउने वा देश चलाउने पदमा पुगे । यता, आफुलाई अर्थविद् घोषित गर्नेहरु पनि राजनीतिक पार्टीको झोला बोक्नमै सीमित भए।
पार्टीभन्दा माथि उठेर कसैले केही पनि गर्न सकेनन् । अहिले सरकारी खर्चको लागि पनि विदेशीसँग हात थाप्नुपर्ने अवस्थामा पुगेको छ, हाम्रो देश।
सरकार विदेशीबाट ऋण लिएर दैनिक खर्च धानिरहेको छ। सरकारी कर्मचारी र जनप्रतिनिधिहरु विदेशीको ऋणबाट तलबभत्ता खाइरहेका छन्।
गएको दशैंमा विदेशीले ऋण नदिएको भए सरकारी कर्मचारी र जनप्रतिनिधिहरुले तलबभत्ता, पेश्की पाउँदैनन् थिए। न त बुढाबुढी, एकल महिला, अपांगता भएका व्यक्तिहरुले भत्ता पाउँन्थे। अहिले हरेक नेपालीको टाउकोमा लाखौं विदेशी ऋण छ।
नेपाल सरकारले देशै धितो राखेर विदेशीसँग २७ खर्ब ऋण लिइसकेको छ। दुई करोड ९१ लाख ६४ हजार ५७८ जना नेपालीको टाउकोमा लाखौं विदेशी ऋण छ।
सरकार विदेशीसँग ऋण लिन्छ अनि कर्मचारी, राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, सांसदलगायत जनप्रतिनिधिहरु तलबभत्ता खान्छन्। सेवासुविधा उपभोग गर्छन्। देशविदेश घुम्छन्। अहिले सरकारसँग आम्दानीको स्रोत के छ ?
राज्यसँग आम्दानीको स्रोत केही छैन । तर, खर्च भने दिनहुँ बढिरहेको छ। अनि अब सरकारले कसरी सरकारी खर्च धान्छ ? र, कसरी विदेशीसँग लिएको ऋण तिर्छ ? ऋणको त कुरा छोडौं अहिले सरकार विदेशी ऋणको साँबाब्याज समेत तिर्न नसक्ने अवस्थामा पुगेको छ।
सरकार एउटा देशबाट ऋण लिन्छ अनि अर्को देशको साँबाब्याज तिर्छ । यस्तो पाराले कहिलेसम्म चल्छ, सरकार ? यसरी नि देश विकास हुन्छ र, सरकार ?
सरकारमा बस्नेहरुसँग राजस्व कसरी उठाउने ? भन्ने भिजन नै छैन। उल्टै कहाँ, कसरी खर्च गरेर भ्रष्टाचार गर्ने ? भन्नेतिर उनीहरु सोच्न मग्न छन्।
राजनीतिक दलहरुले जनतालाई भ्रममा पारिरहे। पञ्चायती व्यवस्था फाल्न र बहुदलीय व्यवस्था ल्याउन तत्कालिन राजनीतिक दलहरुले राजपरिवारले विदेशमा लुकाएको सम्पत्ति ल्याएर देश विकास गर्ने नारा लगाए।
०४६ सालमा पञ्चायती व्यवस्था हट्यो। र, बहुदलीय व्यवस्था आयो। यसपछि विदेशी ऋणको सिलसिला सुरु भयो। ०६२–०६३ को जनआन्दोलनले देशबाट बहुदलीय व्यवस्था पनि हटायो। र, लोकतन्त्र, गणतन्त्र ल्यायो।
विडम्बना, आज देश विदेशी ऋणमा चुलुम्मै डुबेको छ। हिजो विश्वभर अलग्गै पहिचान भएको हाम्रो देशको आज अस्तित्व नै नरहने अवस्थामा पुगेको छ।
राजनीतिक दलहरुको फोहोरी राजनीतिका कारण आज देश र जनता नै संकटमा परेका छन्। घर घरबाट युवाहरु विदेशिएका छन्। उनीहरुको घरपरिवारलाई थाहा छैन कि आफ्नो छोराछोरी ठिकठाक आउँछन् कि बाकसमा।
आफ्रनै देशमा केही गर्छु भन्ने युवाहरु पनि यहाँको फोहोरी राजनीति र खुट्टा तान्ने प्रवृत्तिका कारण विदेशिएका छन्। सरकारसँग उनीहरुलाई रोक्ने केही उपाय छैन।
उल्टै सरकार आफ्ना देशका जनतालाई खसीबोका बेचेझैं विदेशीलाई बेचिरहेको छ। अनि हामी सर्वसाधारण जनताले देशमा सरकार छ ? भनेर कसरी विश्वास गर्ने ? नेपालको धेरै भू–भाग छिमेकी भनिने देशहरु भारत र चीनले कब्जा गरेको छ।
बाँकी भएको भू–भाग पनि सरकारले धितो राखेर विदेशीसँग ऋण लिएर खाइसकेको छ । हिजो देशमा राजनीतिक परिवर्तनका लागि आन्दोलनको नेतृत्व गर्नेहरुले अहिले अँकुत सम्पत्ति जोडेका छन्।
सडकमा जनता उतारे, जनता र तिनका छोराछोरीको ज्यान लिए । अनि हिजो खुट्टा एक जोर राम्रो जुत्ता लगाउन नसक्नेहरु अहिले खर्बौको सम्पत्तिको मालिक बने।
महलजस्तो घरमा बस्ने थाले। र, महंगा महंगा कपडा र चिल्लो गाडीमा हिँड्न थाले। राजनीतिक दलका नेताहरुले जनतालाई भ्रममा पारेर र देशको नाम बेचेर फाइदा उठाउनु उठाए । अहिले पनि उठाउँदै छन्।
सरकारी कर्मचारी राजनीतिक दलको मिलेमतोमा देश नै विदेशीलाई बेचिसकिएको छ। जनता मेरो घर छ, जग्गा छ र म यो पार्टीमा आबद्ध छु भन्छन्। तर,उनीहरुलाई कर्मचारी र नेताहरुले देश बेचिसकेको थाहा छैन। अनि देशै नरहेपनि कसरी त्यो घर र जग्गा आफ्नो हुन्छ ?
श्रींलकामा आर्थिक मन्दी आयो। त्यहाँका जनताहरु सडकमा उत्र्रिए। र, तत्कालिन राष्ट्रपतिलाई देशबाटै लखेटे। अहिले नेपालमा पनि पूरै आर्थिक मन्दी छ। व्यवसायीहरु पलायन हुदैँ गएका छन् । तीन वर्षअघि करोडमा किनेको घडेरी अहिले लाखौंमा बिक्री नहुने अवस्था आएको छ।
३५ सयमा किनेको सेयर सय रुपैयाँमा बिक्दैन । गाडीमा पनि यस्तै छ । २५–३० लाखको गाडी अहिले त्यसको आधाको पनि आधा मूल्यमा पनि बिक्री हुन्न। बजार मन्दीले ढाकिसकेको छ । घरहरु धमाधम खाली हुदैँ गएका छन् । बजारमा महंगी हवात्तै बढेको छ भने बेरोजगारी पनि उत्तिकै बढेको छ।
बैंक तथा वित्तिय संस्थाहरु पनि डुबे। सहकारीले करोडौं बचतकर्ताको बिचल्ली बनाइदियो। उनीहरुलाई मर्नु कि बाँच्नु अवस्थामा पुप्याइदिएको छ। तर, यस्तो हुँदा पनि नेपाली जनताहरु सरकारको विरोधमा सडकमा आउदैंनन्, किन ? किनकि यहाँ जनता नै छैनन्। सबै पार्टीको कार्यकर्ता मात्रै छन्। जनतालाई आफ्नो देशको माया भएन त नेतालाई जनता र राष्ट्रको।
नेपाली जनताले कतारमा गएर त्यत्रो फुटबल रंगशाला बनाइदिए । सो क्रममा कयौं नेपालीहरु मरेपनि। मरुभूमि जस्तो देशमा नेपाली जनताले रगत–पसिना बगाएर रंगशाला बनाए। यति मात्र होइन अन्य खाडी मुलुक होस् या अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत विकसित मुलुकको विकासमा नेपालीको रगत–पसिना बगेको छ।
नेपाली जनताकै कारण ती देश आज यहाँबाट आइपुगेका हुन्।तर, यति धेरै देशको विकासमा योगदान पुप्याउने हामी नेपालीको आफ्रनै देश भने अहिले पनि अविकसितको सूचीमा छ। किनकि सरकारले युवा जनशाक्तिको सदुपयोग गर्न सकेन।
सरकारले आफ्नो देशको जनतालाई आफ्रनै देशमा रोजगारी दिनुपथ्र्यो। त्यसो गरेको भए आज नेपाल पनि विश्वमै विकसित मुलुकमा पथ्र्यो । बिडम्बना, सरकारमा बस्नेहरु सही नहुँदा आज देश र जनता यो अवस्थमा पुगेको छन्।
सरकारमा बस्नेहरुले जनतालाई बेचे। अनि ती जनताले पठाएको रेमिट्यान्समा मोजमस्ती गरिरहेका छन्। करोडौं नेपाली जनता अहिले पनि रोजगारीको सिलसिलामा विदेश छन्।
यीनीहरुले नै पठाएको रेमिट्यान्सले सरकारी कर्मचारी र जनप्रतिनिधिहरु तलबभत्ता,सेवासुविधा उपभोग गरिरहेका छन्। जनताले तिरेको कर पनि कर्मचारी र नेताहरुले भ्रष्टाचार गरे। विदेशीबाट ऋण ल्याएर पनि झवम बनाए।
अहिले जनता कर तिर्न नसक्ने अवस्थामा पुगेका छन् । जनता जन्मिएपछि मृत्यु भएपछि पनि कर तिर्छन्। कर तिर्ने जनता भोकभोक हिँडेका छन्।
एक जोर राम्रो जुत्ता र कपडा लगाउन पाएका छैनन्। तर, कर्मचारी र नेताहरु भने जुँगा मोटाएझैं मोटाएका छन्। अनि यस्ता ठग, शोषक, सामान्ती व्यक्तिहरुलाई अब जनताले कहिले देशबाट लखेट्ने ? कहिले देशमा नेताको होइन, साँच्चिकै जनताकै शासन हुने ?