बलात्कार र अपहरण मुद्दाका अभियुक्तलाई छुटाइदिने भन्दै १७ लाख ठगी गर्ने पक्राउ
काठमाडौं। बलात्कार र अपहरण तथा शरीर बन्धकको कसुरमा पुर्पक्षमा कारागारमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै १७ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका-२३ बैराठपुरका २५ वर्षीय सहदेव पटेल छन्। उनलाई जिल्ला प्रहरी कार्यालय बाराको टोलीले पक्राउ गरेको हो।
अपहरण र बलात्कार आरोपमा पुर्पक्षमा वीरगन्ज कारागारमा रहेका एक व्यक्तिलाई छुटाइदिन्छु भन्दै उनले १० लाख ठगी गरेको आरोप छ।
त्यसैगरी बलात्कार केशमा पुर्पक्षमा थुनामा रहेका अर्का व्यक्तिलाई छुटाइदिने भन्दै उनले ७ लाख लिएर ठगी गरेको खुलेको बारा प्रहरीले जनाएको छ।