गठबन्धनलाई चुँडिने गरी नतान्नुस् टुट्न सक्छ: घनश्याम भुसाल
काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भूसालले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण वर्तमान सत्ता गठबन्धन खतरामा रहेको बताएका छन्।
शुक्रबार भैरहवामा आयोजना भएको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भूसालले ओलीको व्यवहारले गठबन्धनको भविष्य धेरै लामो नजान सक्ने बताएका हुन्।
‘माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओली दुवै काँग्रेस र पार्टीभित्रको द्वन्द्वले गर्दा नयाँ गठबन्धनमा बाध्यताले जोडिएका हुन्,’ भूसालले भने, ‘यो कति लामो समय जान्छ, त्यो ओलीजीको व्यवहारमा भरपर्छ।
सम्झौता उल्लङ्घन गर्ने, सहमति कार्यान्वयन नगर्ने ओलीको पुरानै बानी भएको भूसालले बताए। उनले सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादीका मुख्यमन्त्रीलाई विश्वासको मत दिन एमालेले आनाकानी गरेको संकेत गर्दै त्यसो भए गठबन्धन टुट्ने चेतावनी दिए। भूसालले भने,गठबन्धनलाई चुँडिने गरी नतान्नुस् अन्यथा क्षति हुनेछ।
भूसालले एकीकृत समाजवादीको महाधिवेशनपछि नेपालका कम्युनिस्ट पार्टीहरूभित्र सैद्धान्तिक र वैचारिक भुईँचालो जाने दाबी गरेका छन्। उनले महाधिवेशनपछि नेपालका कम्युनिस्ट पार्टीहरूलाई ध्रुवीकृत गराउने समेत बताए।