कांग्रेस र एमाले एकै ठाउँमा उभिए मुलुकको समस्या समाधान हुन्छ: नेता कोइराला
बाँके। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्र नै नरहे के का लागि राजनीति गर्ने भन्दै आफू र राजनीतिक दल भन्दा देश माथि छ भन्ने कुरालाई आत्मसात् गर्ने समय आएको बताएका छन्।
बाँकेको कोहलपुरमा आयोजित नेपाली कांग्रेस बाँके क्षेत्र नं १ को सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले जब देशमा अप्ठ्यारो परिस्थिति आउँछ तब कांग्रेस र एमाले एकै बिन्दुमा उभिएर समस्या समाधान गरेको बताए।
कोइरालाले चौतर्फी रूपमा देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेकोले नेताहरूले देशको माटो र जनतालाई सम्झेर संवेदनशील र जिम्मेवार हुनुपर्ने बताए।
निर्वाचन प्रणाली नै अहिलेको समस्याको मूल जड भएको बताउँदै कोइरालाले निर्वाचन प्रणाली परिवर्तन गरेर देशलाई निकास दिन संघीय संसद्को पहिलो दल कांग्रेस र दोस्रो दल एमाले एक ठाउँमा उभिनुपर्ने समेत प्रष्ट पारे।
२०६४ को संविधानसभा पछि लगातार चार जना कम्युनिस्ट प्रधानमन्त्री बन्दासमेत संविधान बन्न नसकेको प्रसङ्ग उल्लेख गर्दै कोइरालाले भने, ‘२०७० को दोस्रो संविधानसभामा जब कांग्रेस र एमाले पहिलो र दोस्रो पार्टी भए,कांग्रेस र एमाले एकै ठाउँमा उभिए अनि संविधान जारी भयो।
कोइरालाले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछानेको अनुसन्धानका लागि संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले संसद् चल्न नदिने पनि बताए।
हामीले गृहमन्त्रीको राजीनामा मागेका होइनौँ, संसदीय छानबिन बनाऔँ सहकारी ठगीमा उहाँको संलग्नता नदेखिए उहाँ गृहमन्त्री रहिरहनुहुनेछ तर संसदीय समिति बनाउन सरकार किन डराएको ? कोइरालाले प्रश्न गरे।