सन्दर्भ : २०७ औं मार्क्स जन्म जयन्ती : मार्क्सवाद विश्व सर्वहारा क्रान्तिको विज्ञान
- हस्तबहादुर केसी
” मार्क्सवाद भनेको मार्क्सका विचार र उनका शिक्षाको व्यवस्थित श्रृंखला हो ।”
– भी. आई. लेनिन
विश्व सर्वहारा वर्गका महान् नेता तथा मार्क्सवादका प्रवर्तक कार्ल मार्क्स जन्मिएको २०६ वर्ष पुरा भइसकेको छ । सन १८१८ मे ५ तारिखका दिन जर्मनीको प्रसिया प्रदेश अन्तर्गत ट्रियर शहरमा कार्ल मार्क्सको जन्म भएको थियो । आज मे ५ , २०२४ का दिन विश्व सर्वहारा वर्ग तथा उत्पीडित राष्ट्र र जनसमुदायले विभिन्न देशहरूमा मार्क्सको २०७ औं जन्म जयन्ती मनाउन गइरहेका छन् ।
आजको ऐतिहासिकतालाई जोडेर यस लेखमा मार्क्सवाद र विश्व सर्वहारा वर्गको ऐतिहासिक कार्यभारका बारेमा संक्षिप्त्त रुपमा लेख्ने प्रयत्न गरिएको छ ।
मार्क्सवाद विश्व सर्वहारा वर्ग र सिंगो मानव जातिकै क्रान्ति र मुक्तिको विज्ञानको रुपमा स्थापित भइसकेको छ। यद्यपि विश्वमा घटित क्रान्ति र प्रतिक्रान्तिका घटनाका कारण मार्क्सवादको वैज्ञानिकताप्रति केही आशंका पनि व्यक्त गरिँदै आएका छन्। परन्तु , अहिलेसम्म आइपुग्दा मार्क्सवादको विकल्पमा उभिन सक्षम क्रान्ति र मुक्तिको कुनै विज्ञान जन्मन सकेको छैन। र, त्यो सम्भावना पनि देखिदैन।
मार्क्सवाद जन्मने बित्तिकै यसका दुश्मनहरुले मार्क्सवादका विरुद्ध अनेकौं कुप्रचार गर्दै आएका छन् खासगरी मार्क्सवादको भ्रष्टिकरण गर्ने र मार्क्सवादकै विरुद्ध उभिनेमा अवसरवाद र विभिन्न खाले प्रतिक्रियावाद देखा पर्दै आएका छन्।अवसरवाद संशोधनवादका विभिन्न रुपमा प्रकट भयो। त्यसैगरी अराजकतावाद पनि विभिन्न रुप र रंगमा देखा पर्यो।
यसप्रकारका प्रवृत्ति दक्षिण , मध्य र उग्रपन्थका रुपमा प्रकट हुँदै आएका छन्। तिनले मार्क्सवादको संशोधन र भ्रष्टिकरण त गरे नै तर ती अन्त्यमा मार्क्सवादको सर्वहारा वर्गीय क्रान्ति र मुक्तिको सारतत्वमाथि हमला बोल्दै प्रतिक्रियावादकै शरणमा पुगे।
प्रतिक्रियावादीहरुले पनि मार्क्सवादमाथि नाना तरहका आरोप लगाउँदै आए यहाँनेर ध्यान दिनुपर्ने कुरा के छ भने मार्क्सवादका अनुसार सर्वहारा वर्गीय राज्यसत्ताको सारतत्व भनेको सर्वहारावर्गको अधिनायकत्व हो र ती सबै त्यस अधिनायकत्वका विरुद्ध उभिए।
अनि ती सबैले यो वा त्यो रुपमा पुँजीपतिवर्ग वा प्रतिक्रियावादीवर्गको अधिनायकत्वको पक्षपोषण गर्न पुगे। यसैक्रममा नवमार्क्वाद , उत्तर – मार्क्सवाद र उत्तर -आधुनिकतावाद जन्मिए। अन्ततः संशोधनवाद,अराजकता र प्रतिक्रियावाद सबैको मिलनकेन्द्र आज मूलरुपमा उत्तर- आधुनिकतावाद बन्न गएको छ।
उत्तर – आधुनिकतावादले एकातिर विचारधाराको अन्त्य ,क्रान्ति र मुक्तिका महान् वृतान्तहरुको अन्त्य ,इतिहासको अन्त्य,साम्यवादको अन्त्य लगायतका अन्त्यको घोषणा गर्दै अर्कोतिर उदारवाद ,पुँजीवाद,संसदवाद तथा साम्राज्यवादलाई चिरञ्जीवी बनाउँदै आएको छ।
आज उत्तर – आधुनिकतावाद मार्क्सद्वारा प्रतिपादित द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद,वर्गसंघर्ष,सर्वहारा वर्गको अधिनायकत्व तथा साम्यवादको विरोध र पुँजीवाद,संसदवाद,नवउदारवाद ,साम्राज्यवादको पक्षमा उभिने क्रममा तिनको पुष्टिका लागि अतर्कबुध्दिवाद ,शून्यवाद ,अज्ञेयवाद ,बहुलवाद ,सारसंग्रहवादका भुत्ते हतियारहरु भिरेर आएको छ।
साथै त्यसले विज्ञान र प्रविधिको विकास प्रक्रियालाई देखाएर तथा आफ्नो सत्ता बचाउनका लागि तिनको दुरुपयोग गरेर क्रान्ति र मुक्तिको दिशामा अग्रसर विश्व सर्वहारावर्ग र उत्पीडित जनसमुदायलाई तर्साउने काम गरिरहेको छ।
वस्तुतः आज साम्राज्यवाद राजनीतिक,आर्थिक तथा साँस्कृतिक संकटको भुमरीमा फस्दै आएको छ।केही मुठ्ठीभर उत्पीडकहरुको हातमा पुँजीको संकेन्द्रण तथा उनीहरूको मुनाफादेखि मुनाफासम्मको यात्रा अब ध्वस्त हुँदै छ।विज्ञान र प्रविधिको विकास भनेको उत्पादक शक्तिको विकास हो,त्यसले पुरानो उत्पादन सम्बन्धको ध्वंसको नगरा बजाइरहेको छ।
एकातिर स्वतन्त्रता तथा समानताको भ्रमपूर्ण नारा दिने र अर्कोतिर बहुसंख्यक श्रमिक जनताको आर्थिक समानताको विरुद्ध उभिई मुठ्ठीभर उत्पीडकहरुको आर्थिक हितलाई सर्वोपरि स्थान दिने कथित संसदीय लोकतन्त्रको आयु अब धेरै लामो छैन।
उत्पादक शक्तिको विकास , वर्गसंघर्षका आरोह तथा अवरोहका प्रक्रिया ,साम्राज्यवादका सामु निरन्तर पैदा हुँदै आएका संकट लगायतका तथ्य र उनीहरूको शून्यवादी सिध्दमन्तमा आधारित तर्कहरुबाट जतिसुकै कसरत गरे पनि मार्क्सवादको सैध्दादान्तिक खण्डन हुन सक्तैन।
मार्क्सवाद गतिशील विज्ञान हो ।त्यो एउटै ठाउँमा जमेर बस्न सक्तैन।त्यो विकसित हुँदै जान्छ र त्यसको मार्क्सवाद – लेनिनवाद – माओवादका रुपमा विकास पनि भइसकेको छ। तर अब यत्तिले पुग्दैन। आजको वर्गसंघर्ष तथा विज्ञान एवं प्रविधिको विकासशीत हातेमालो गर्दै मार्क्सवादको अझै विकास गर्न जरुरी छ।
यो अभिभारा विश्व सर्वहारावर्ग तथा उत्पीडित जनसमुदाय र तिनको रणनीतिक प्रतिनिधित्व गर्ने विश्वका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुको काँधमा आएको छ। यसै ऐतिहासिक अभिभारा तथा दायित्व पुरा गर्नका लागि संघर्षरत रहनु नै मार्क्सको २०७ आौं जन्म जयन्ती मनाउनुको मूल अपेक्षा तथा अभिप्राय हो।
मार्क्सवादको रक्षा , प्रयोग र विकास गर्दै सिंगै विश्व र नेपाल समेतलाई बदल्नका लागि नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवाद प्राप्तिका लागि नेपालमा क्रान्तिकारी धाराका कम्युनिस्ट पार्टीहरु सैध्दान्तिक,वैचारिक रुपमा एकताबध्द हुँदै यस महान् अभियानमा जुट्नुको विकल्प छैन।
किन भने विश्व सर्वहारा वर्गको ऐतिहासिक कार्यभार भनेको विश्व मानव जातिलाई वैज्ञानिक साम्यवादी नौलो संसारमा पुर्याउने हो। मार्क्स र मार्क्सवादको अन्तिम अभिष्ट पनि यही नै हो।
मिति : ५ मे २०२४ , ( २३ वैशाख २०८१ )
( लेखक : वरिष्ठ मार्क्सवादी लेखक तथा अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ) ।