अर्थतन्त्र सिकिस्त बनेको बजारमा छरपस्ट,तर सत्तामा बसेकाहरु अझै पनि अन्जान

आफ्नो देशमा के भइरहेको छ ? भनेर हरेक नागरिक सचेत हुनुपर्छ। सञ्चार माध्यममा आएका समाचारलाई पनि प्राथमिकता दिनुपर्छ। केही दिनअघि मेडिकल व्यवसायी दुर्गा प्रसाईका कार्यकर्ताले बैंक तोडफोड गरे। त्यसअघि सप्तरीमा बैंकका सुरक्षा गार्डको हत्या भयो। अहिले कतिपय बैंकका बचतकर्ताहरु आफ्नो खाताबाटै पैसा हराएको बताउँछन्।

उद्योगी, व्यवसायीहरु आफुहरु पलायन हुनुपर्ने अवस्थामा पुगेको बताउँछन्। निर्माण व्यवसायी, दुग्ध किसान,अटो व्यवसायी,घरजग्गा,गाडी र सेयर व्यवसायीहरु पनि आफुहरु डुबेको भन्छन्। उद्योगी, व्यापारी तथा व्यवसायीहरु बजार चलायमान भएन भन्छन्। बैंकको खराब कर्जा बढ्दै गएको छ। बैंकबाट कर्जा लिने कोही छैन।

अर्थमन्त्री वर्षमान पुन बजार चलायमान गराउनुपर्ने भन्छन् । तर, कसरी बजार चलायमान बनाउने ? व्यवसायीहरुका अनुसार हरेक क्षेत्रमा मन्दी छ । घरजग्गा, गाडी र सेयर कारोबार ठप्पै छ । व्यापार व्यवसाय पनि छैन । अहिले लगानी गर्नेभन्दा पनि पलायन हुनेहरु बढिरहेका छन्। अनि कसरी हुन्छ बजार चलायमान ?

बुढोपाकाले भन्थे, ‘खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ।व्यापार व्यवसाय गर्नेहरु सबै डुबेका छन्। व्यवसायीहरु आफु डुब्यौ भनिरहेका छन् । यद्यपि, सरकार भने अझै सर्वसाधारणलाई भ्रममा पारिरहेको छ। व्यापार व्यवसाय ठप्प भएको सरकार स्वीकारदैंन्। मालपोत र यातायात कार्यालयमा घर र गाडी किनबेच तथा नामसारी छैन।

अनि अर्थमन्त्री र प्रधानमन्त्री न त्यहाँ गएर हेर्छन् न बजार मन्दीमा गएको नै स्वीकार्छन्। सेयर कारोबार घट्दै गएको छ। मूल्यमा भारी गिरावट आएको छ । सुपर मार्केट, बिग मार्ट, भाटभटेनीमा ग्राहक भेटिदैंनन्। होटल, रेस्टुरेन्टदेखि ब्युट्री पार्लर, हार्डवेयर व्यवसायीहरु बहनी समेत नहुने गुनासो गर्छन्। यता, दही, दुध, माछा, मासु, फलफुल व्यापारीहरु पनि व्यापार छैन भन्छन्।

बजारमा सुनको मूल्य बढिरहेको छ। तर, सुन व्यापारीहरु किन्नेभन्दा पनि बेच्ने बढी रहेको बताउँछन्। बजारमा जताततै ‘कोठा खाली’, ‘सटर भाडामा’, ‘फ्ल्याट खाली’, ‘टुलेट’,लगायत लेखिएका पोस्टरहरु देखिन्छन्। निजी विद्यालयहरु प्नि विद्यार्थी अभावका कारण बन्द हुने अवस्थामा पुगेका छन्। कि त दुई–तीनवटा विद्यालयसँगै मर्ज गरेर चलाउनुपर्ने नभएर बन्दै गर्नुपर्ने स्थितिमा पुगेको बताइन्छ।

यति मात्र होइन अहिले निजी अस्पतालहरु पनि बन्द हुनुपर्ने अवस्थामा पुगेका छन्। अहिले सर्वसाधारणमा निराशा छाएको छ । नेपालीको आयु ७० वर्ष उता छ । जबकी सय वर्षअघि ३०–४० वर्ष पनि थिएन। अहिले स्वास्थ्य सेवा, खाद्यान्नलगायतका कारण पनि मानिसको आयु बढ्दै गएको छ । तर, पैसा हुने त उपचार गरेर भएपनि सय वर्षसम्म बाँच्छन्।

अनि उपचार गर्न पैसा नभएकाहरुले अहिले पनि कलिलै उमेरमा ज्यान गुमाउनुपरिरहेको छ। खोलामा नुहाउन वा माछा मार्न गएको मान्छेभन्दा डाँडो हिँड्ने बाँठो हुन्छ भनिन्छ। अहिले मुलुक आर्थिक मन्दीमा गयो। अर्थतन्त्र धरायसी अवस्थामा पुग्यो भनेर सर्वसाधारण, व्यापारीहरुमा छलंग छ। तर, सरकारमा बसेकाहरुलाई भने केही थाहा छैन।

प्रधानमन्त्री, मन्त्रीहरुलाई देश कुन बाटोमा गइरहेको छ ? कसरी देश चलिरहेको छ ? अर्थतन्त्र कस्तो अवस्थामा छ ? बजार चलायमान छ कि छैन ? भनेर केही थाहा छैन। यहाँ त प्रधानमन्त्री, मन्त्री पद खेलौनाजस्तो भएको छ। चिसा पसलेहरु दुई वर्षअघि दैनिक पाँच हजारको व्यापार हुनेमा अहिले पाँच सयको नहुने निराश भएर बताउँछन्।

झन् घरजग्गा, गाडी र सेयर त किन्ने कोही छ। अहिले बजारमा गुन्द्रक बिक्री हुन्छ । तर, घरजग्गा, गाडी र सेयरमा मानिसहरु लगानी गर्दैनन्। बैंक तथा वित्तिय संस्थाको सम्पूर्ण लगानी घरजग्गा, गाडी र सेयरमा छ।

अहिले ९५ प्रतिशत मानिसको घरजग्गा, गाडी र सेयर बैंक तथा वित्तिय संस्थाको नाममा छ । बेरोजगारी, मन्दी वा व्यापार व्यवसायमा डुबेपनि उनीहरु अहिले बैंकको ऋण तिर्न नसक्ने अवस्थामा पुगेका छन्।

अहिले ऋणीहरुले ‘हामी ऋण तिर्न सक्दैनौं, बरु धितो लिलाम गर’ भनेर भनिसके । धितो लिलाम गरेपनि बैंकसँग बेच्न ग्राहक छैन। यसले गर्दा सर्वसाधारणले बैंकमा गरेको बचत समेत जोखिममा परेको छ। हिजो सहकारी पनि त घरजग्गा, गाडी र सेयरमै लगानी गर्दा भाग्नुपरेको थियो नि त। अब सरकारले बैंकमा जनताको बचत सुरक्षित छ कि छैन ? सत्य कुरा बताउनुपर्छ ।

सर्वसाधारणमा भ्रममा पारिरहनु हुन्न । किनकि भोलि सर्वसाधारण डुबेपनि त्यसको जिम्मा कसले लिन्छ ? दुई वर्षअघि ३५ सय कित्तामा किनेको सेयर अहिले सय रुपैयाँमा बिक्री नभएको सेयर लगानीकर्ताहरु नै भन्छन्। आनाको ३० लाखमा किनेको घडेरी अहिले पाँच लाखमा बिक्री नभएको मानिसहरु आफैं बताउँछन्। यता, सवारीसाधनको किनबेचमा पनि गिरावट आएको छ।

व्यवसायीहरु गाडीको मूल्य घट्दा पनि किन्ने कोही नभएको बताउँछन् । नेपालमा व्यापार व्यवसाय गर्दै आएका मारवाडी व्यवसायीहरुले पनि यहाँ बजारमा मन्दी आएपछि व्यवसाय नै छोडी यहाँ कमाएको पैसा पनि बोकेर आफ्रनै देश फर्किएका छन् । सहकारी, लघुवित्त र फाइनान्सले त्यत्तिकै पीडित बनाएको छ ।

सर्वसाधारणहरुको बिल्लीबाँठ भएको छ । कतिपय मानिसको घरपरिवार नै लथालिंग बनेको छ । अब देशमा के हुन्छ ? भनेर सर्वसाधारणमा अन्यौलता छ । घरजग्गा, गाडी र सेयरमा लगानी गर्ने व्यक्ति होस् या बैंक तथा वित्तिय संस्था त डुबि नै हाले । बजारमा कुनै पनि क्षेत्रमा लगानी गर्ने कोही छैन । किनकि मानिसहरुले पैसा सबै लुकाइसकेका छन् ।

अहिले पैसा हुनेले बैंकबाट निकालेर घरमै लुकाएका छन् । यता, पैसा नहुनेलाई हिजो पनि केही थिएन र आज पनि केही छैन। यसरी पैसा हुनेहरुले नै बजारमा लगानी नगरिदिँदा पनि अर्थतन्त्रमा सुधार आउन नसकेको हो। ज्ञानेन्द्र शाह राजा हुँदा भन्थे, ‘नेपाललाई जहिल्यै पशुपतिनाथले कल्याण गरुन। यसो भन्दाभन्दै देशबाट राजतन्त्र हट्यो।

उनले पद पनि गुमाउनुपप्यो। र, नारायाणहिटी दरबार समेत छोड्नुपप्यो। अहिले पूर्वराजा शाह नागार्जुनमा बस्छन्। मुलुक संघीयतामा गएको छ। देशमा लोकतन्त्र गणतन्त्र आएको छ। ०६१ माघ १९ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई विस्थापन गरेर पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो हातमा सत्ता लिएका थिए।

तुल्सी गिरी, कीर्तिनिधि विष्ट र कमल थापाजस्ता व्यक्तिलाई ल्याएर सत्ता चलाउँदा शाहले राजा पद र दरबार नै गुमाउनुपप्यो । वर्तमान सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छन्।

अर्थमन्त्री वर्षमान पुन छन् । तर, उनीहरुले अहिलेसम्म अर्थतन्त्रमा सुधार ल्याउन केही गरेका छैनन् । जहिल्यै अर्थतन्त्रमा सुधार आउँदैछ भनेर सर्वसाधारणमा ढाँटिरहेका छन्।

केही वर्षअघि श्रींलकामा जनताले आफ्नो देशको राष्ट्रपतिलाई लखेटे। त्यसरी नै नेपाली जनताले पनि एक दिन यीनीहरुलाई देशबाट लखेट्ने छन्।

किनकि झुट जहिले पनि झुट नै हुन्छ। जनआन्दोलनका कारण हिजो राजा त दरबार छोडेर हिँड्नुपप्यो भने राष्ट्पति,प्रधानमन्त्री र मन्त्रीहरु को हुन् र ? पालो सबैको आउँछ। त्यसैले, अब सत्तामा बसेकाहरुले हावा कुरा गरेर जनतालाई भ्रममा पारिरहनुभन्दा पनि छिटोछिटो काम गर्नु नै उचित हुनेछ।

सरकारी स्वामित्वकै महालेखा परीक्षकको कार्यालय आम्दानीभन्दा बढी खर्च भएको दाबी गर्छ। राज्यको लक्ष्यअनुसार राजस्व नउठेको उसको भनाइ छ। यद्यपि, सरकार चाँहि अर्थतन्त्रमा सुधार आइरहेको ठोकुवा गर्छ। सत्तामा बसेकाहरुले दिन कटाउने, मानो चटाउने काम गर्नुहुन्न। कि त भटाभट काम गर्नुपर्छ। नभए जनतासँग माफी मागेर सत्ताबाट बाहिरिनुपर्छ।

अहिले सर्वसाधारण समेत सचेत भइसकेका छन्। उद्योगी, व्यवसायी तथा दलालीहरु प्रधानमन्त्री, अर्थमन्त्री भेटेर हामी डुब्यौ भनिरहेका छन्। तर, प्रधानमन्त्री कहाँ गएर गोहीको आँसु झार्दैमा बजार पहिलाकै अवस्थामा फर्किन्छ र ?

बजार चलाउन सर्वसाधारणले लगानी गर्नुपर्छ नाकि प्रधानमन्त्री, अर्थमन्त्रीले। यद्यपि, यस्ता दलालीहरुले आफुहरुलाई ठग्दै आएको थाहा पाएपछि अब सर्वसाधारण सतर्क भइसकेका छन्।