सहकारी ठगीविरुद्ध सदन र सडकमा संघर्ष गर्नुपर्छ: नेता नैनसिंह महर

काठमाडौं।नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सहकारी ठगीविरुद्ध सदनसँगै सडक संघर्ष गर्नुपर्ने बताएका छन्।

गाउँ–गाउँका गरिब जनता सहकारी ठगबाट पीडित रहेकाले जनस्तरमै सडक संघर्षको अपरिहार्यता रहेको उनले बताए।

‘सहकारी पीडित जनताको पक्षमा सरकार देखिएन। आफ्नै मन्त्रिपरिषदका सदस्य र अन्य सहकारी ठगीका दोषीलाई सरकारले संरक्षण गरिराखेको जस्तो देखिन्छ,नेपाल शिक्षक संघको स्थापना दिवसमा आइतबार काठमाडौंमा भएको कार्यक्रममा महरले भने।

पीडितलाई न्याय दिन कांग्रेसले सदनसँगै जनताको माझमा रहेर सडक संघर्ष गर्नुपर्ने उनले बताए।सबै जिल्लामा सडक संघर्षका कार्यक्रम अघि सार्नुपर्छ,उनले भने।

सहकारी ठगी जनताको जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएको र ठगिएका जनता गाउँ–गाउँमा रहेकाले कांग्रेसको आन्दोलन सडक हुँदै सदनसम्म केन्द्रित हुनुपर्ने उनको भनाइ छ।

सहकारी ठगीको निष्पक्ष छानबिन भयो भने एमालेलगायत गठबन्धनमा संलग्न दलका धेरै नेताहरू अनुसन्धानको दायरामा आउन सक्ने भएकाले एमाले अध्यक्ष ओलीलगायत छानबिन समिति बनाउन बाधा खडा गरिरहनु भएको छ,उनले भने।