वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ परेका छन् । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा मकवानपुर घर भई काठमाडौं आरूबारी बस्ने ३० वर्षीय निमा रिन्जिन, ललितपुर, ललितपुर महानगरपालिका ९ ईमाडोल बस्ने ५५ वर्षीय प्रकाश बज्राचार्य, ५६ वर्षीया कल्पना बज्राचार्य र रामेछाप मन्थली नगरपालिका ९ घर भई काठमाडौं जोरपाटी बस्ने ३४ वर्षीया चन्द्र माया थापा कार्की रहेका छन्।
पक्राउमध्ये निमाले बेलायत पठाईदिन्छु भन्दै १० जना पीडितहरूबाट ५६ लाख ५० हजार रूपैयाँ, प्रकाश र कल्पनाले क्यानडा पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट १५ लाख रूपैयाँ र चन्द्रमायाले स्पेन पठाइदिन्छु भन्दै १ जनाबाट २ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो। उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।