आज चार संसदीय समितिको बैठक बस्दै
काठमाडौं। संघीय संसद्अन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दै छ। अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक मामिला समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो।
संसद सचिवालयका अनुसार अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा आर्थिक २०८१÷०८२ को बजेट तर्जुमा सम्बन्धमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, नेपाल राष्ट्र बैंक, लगानी बोर्ड नेपाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच छलफल तथा अन्तरक्रिया हुने कार्यसूची रहेको छ।
बिहान ११ बजे नै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्नेछ। बैठकमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट हालसम्म भए तथा गरेका काम तथा आगामी कार्ययोजना सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक साढे १२ बजे बस्दै छ। बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा संशोधनकर्तासँग छलफल हुनेछ।
महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा अन्तर–धार्मिक सहिष्णुता सम्बन्धमा मुस्लिम आयोगले खेल्दै आएको भूमिका तथा नेपाल हज व्यवस्थापनबारे छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।