उपचार गर्नुभन्दा रोग लाग्नै नदिने तर्फ लागौं: मन्त्री श्रेष्ठ
काठमाडौं। परराष्ट्र तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले उपचारभन्दा पनि रोग लाग्न नदिने पक्षमा बढी जोड दिनुपर्ने बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले उपचारको लागि हुने खर्चको एक भाग रोग लाग्नै नदिने पक्षमा लगाउने हो भने स्वास्थ्य क्षेत्रमा धेरै सुधार हुने बताए।
उनले भने,हामीले कस्तो नीति तय गर्ने हो त्यसका लागि आफैँ निर्णय गरौँ। बिरामी हुने अनि उपचार गर्ने हो की सकेसम्म बिरामी नहुने भन्ने विषय आफैँमा निर्भर हुन्छ।
अस्पताल,डाक्टर,मेडिसिन र प्रविधिको कुरा नगरौँ। निरोगी रहने प्रयास गरौँ। उपचारका लागि खर्च गर्नुभन्दा स्वस्थ्य रहनका लागि खानपानका लागि व्यवस्था गरौँ।
यसको साथै उनले नेपालको गुणस्तर शिक्षा भनेको राम्रो अङ्कमा पास गर्ने,अङ्ग्रेजी बोल्ने र रोजगार सुनिश्चित गर्नेसम्म मात्रै सीमित भएको भन्दै शिक्षा जीविकोपार्जनको साधनको रूपमा प्रयोग गर्न नहुने बताए।
उनले भने,शिक्षाको मुख्य विषयका बारेमा नै हामीले बहस गर्न जरुरी छ। शिक्षा केका लागि हो, बाँच्नका लागि हो कि जीवनको लागि हो?
शिक्षामा हातमुख जोड्ने साधन मात्रै नसोचौँ। गुणस्तर शिक्षा भनेको राम्रो अङ्कमा पास गर्ने,अङ्ग्रेजी बोल्ने,कर तिर्ने र रोजगार सुनिश्चित गर्नुलाई मात्र गुणस्तर शिक्षा भन्न थालेपछि हाम्रो देश कहाँ जान्छ। शिक्षाको लक्ष्य जीविकोपार्जनको साधन मात्र हुनु हुँदैन।