अब संसदमा गिरीबन्धु टी स्टेटको मुद्दा कांग्रेसको एजेण्डा
काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अब गिरीबन्धु टी स्टेटको विषय पनि संसदमा उठाउने भएको छ। मंगलबार बिहान सिंहदरबारमा बसेको संसदीय दलको बैठकले गिरीबन्धु टी स्टेटको विषय पनि सदनमा उठाउने निर्णय गरेको हो।
सर्वोच्च अदालतले चिया उत्पादनमा नभएको जग्गा सरकारीकरण गर्न आदेश दिइसकेको छ। बैठकपछि संसदीय दलको प्रमुख सचेतक रमेश लेखकले संसदमा उठाउने अर्को पनि एजेण्डा थपिएको बताए।
उनले भने,आजबाट हाम्रो संसद्मा उठाउने अर्को एजेन्डा पनि थपिएको छ। गिरीबन्धु टी स्टेटको जग्गासम्बन्धी सर्वोच्चको फैसलाको स्वागत गर्दै यो विषयलाई प्राथमिकताका साथ उठाउँछौँ। यो प्रकरणमा संलग्न तत्कालीन सरकारका जिम्मेवार व्यक्तिहरूलाई कारबाही हुनुपर्छ भन्ने हाम्रो माग हो।
२०७८ वैशाख १३ गते तत्कालीन केपी ओली नेतृत्वको सरकारले यो जग्गा भाडामा दिने निर्णय गरेको थियो। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणको छानबिनको माग गर्दै संसदीय समिति बटमलाइन बनाउँदै आएको कांग्रेसले अब गिरीबन्धु टी स्टेटको मुद्दालाई पनि एजेण्डा बनाउने निर्णय गरेको हो।