प्रचण्ड–ओलीले गठबन्धनबाट उपेन्द्रपछि माधवलाई पनि ‘आउट’ गर्दै
काठमाडौं । सत्तारुढ दलहरुमा छाएको चिसोपनाको असर पछिल्लो समय व्यवहारतः देखिन थालेका छन्। खासगरी नयाँ समीकरणपछि बनेको सत्ता साझेदार दलहरु तानातानमा परे।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकस्वर हुँदा गठबन्धनका अर्का सहयात्री दलहरु जनता समाजवादी पार्टी (जसपा) र नेकपा एस सत्तामै रहेपनि अलमलमा परेका थिए। यही अवस्थामा जसपा विभाजित भयो।
सरकार ढाल्ने र जोगाउने पक्ष विपक्षमा मत विभाजित हुँदा अशोक राईले पार्टी विभाजन गरेर जनता (समाजवादी पार्टी) दर्ता गराए । र, उपेन्द्र यादवको जसपा नेपाल दल नै कायम भएको छ। त्यसपछि नैतिक दवाबमा परेका उपेन्द्र यादवले उपप्रधान तथा स्वास्थ्यमन्त्रीबाट राजीनमा दिएका छन्।
नेकपा एस र जसपालाई प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नो कित्तामा तान्न सकेसम्मको बल प्रयोग थियो । दुवै दल काँग्रेसको लालचमा पर्दा सत्तारुढ दलहरुले चिसोपना छाइरहेको थियो।
त्यसैको परिणामस्वरुप जसपा विभाजनदेखि उपेन्द्रसको सत्ता बहिर्गमन भएको हो। यसको असर अहिले मधेश प्रदेशमा समेत परेको छ।
यता केन्द्र सरकारबाट उपेन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेतको दवाबमा सरकार छाडेका हुन्। यसअघि आइतबार एमाले र माओवादी केन्द्रका मन्त्रीहरु उपेन्द्र पक्षकै मुख्यमन्त्री रहेको मधेश सरकारबाट बाहिरिएका थिए।
त्यसपछि मधेशका मुख्यमन्त्री शरोजकुमार यादव अल्पमतमा परिसकेका छन्। यीनै राजनीतिक परिदृष्यले उपेन्द्र पनि राजीनामाको नैतिक दवावमा पुगेका हुन्।
त्यस्तै सत्तामा किचलो गरिरहेका नेकपा एसको पनि सत्ता यात्रा लामो देखिँदैन। नेकपा एसले सुदुरपश्चिममा मुख्यमन्त्री हात पारेको छ। तर नेकपा एसबाट मुख्यमन्त्री बनेका दीर्घ सोडारीलाई एमालेले विश्वासको मत दिने मनशाय बनाएको छैन।
यदी एमालेले सोडारीलाई विश्वासको मत नदिए नेकपा एसले काँग्रेसको साथ लिने र केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने रणनीति बुनेको छ ।
काँग्रेससँग साँठगाँठ गरेको कारण नेकपा एमाले र नेकपा एसबीच पनि यतिबेला टकराब चलिरहेको छ। प्रधानमन्त्री बन्न विभिन्न उपाय रचिरहेका माधवले एमाले अध्यक्ष केपी ओलीमाथि निरन्तर प्रहार गरिरहेका छन्।
उता एमाले अध्यक्ष ओली पनि नेकपा एस राजनीति भन्दा व्यक्तिगत फाइदाका लागि हिँडिरहेको बुझाइमा छन्। पदका लागि जे पनि गर्ने र राजनीतिक अस्थिरता ल्याउन माधवले काँग्रेससँग कुम जोडिरहेको आरोप लगाइरहेका छन्।
यो अर्थमा नेकपा एकीकृत समाजवादीको सत्ता यात्रामा पनि चाँडै ब्रेक नलाग्ला भन्ने अवस्था छैन। उसले यसअघि पनि जसपासँग मिलेर गठबन्धन टुटाएर बैकल्पिक गठबन्धन बनाउन धेरै प्रयास गरेको थियो । तर यसको असरस्वरुप जसपा विभाजित भयो।
यो विभाजनसँगै नेकपा एस पनि विभाजन हुने संभावना टरेको दावी गरिँदै आएको छ। यद्यपि माधव नेपालको प्रधानमन्त्री बन्ने जिद्धी र अर्का नेता झलनाथ खनालको एमाले प्रतिकै झुकावले नेकपा एसमै विमत्ति छाएको प्रष्ट छ।
यसले नेकपा एस सरकारबाट बाहिरिने वा विभाजित हुने अवस्थाको पनि संकेत गरिरहेको छ। एमाले–माओवादीसँग सम्बन्ध सुधुर हुन नसक्दा नेकपा एसभित्र पार्टी नेतृत्वलाई गठबन्धन छाड्नसमेत दवाव बढिरहेको छ।
त्यस्तै महाधिवेशनको सम्मुखमा रहेको नेकपा एसका अध्यक्ष माधव नेपालले एमालेलाई दक्षिणपन्थी अवसरवादी पार्टी भनेका छन्। त्यस्तै माओवादी केन्द्रलाई नीतिगत अस्थिर दलको रुपमा परिभाषित गरेका छन्। यी दस्तावेज र बुझाइले पनि नेकपा एस र गठबन्धनबीच तारतम्य मिलेको देखिँदैन।
बैकल्पिक गठबन्धन बनाउन कस्सिएका दुई दलमध्ये उपेन्द्र सत्ताबाट बहिर्गमित बनेका छन्। यही बेमेलता र स्वभाव रहे सत्ताबाट माधव नेपाल पनि बाहिरिनु नपर्ला भन्ने अवस्था छैन। यो अवस्थामा सरकार तत्काल नढले पनि थप कमजोर बन्ने निश्चित छ। त्यसपछि सत्ता राजनीतिको नयाँ कोर्ष सुरु नहोला भन्ने अवस्था छैन।