सन्दीपको मुद्दामा बहस सकियो, फैसला आजै आउने

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दाको बहस सकिएको छ। उच्च अदालत पाटनमा मंगलबारबाट सुरु भएको बहस आज अपराह्नमा मैझारो गरिएको हो।

मंगलबार न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस नसकिएपछि मुद्दा अन्तिम समयमा ‘हेर्दाहेर्दै ’राखिएको थियो। मंगलबार बाँकी रहेको बहस बुधबार निरन्तर भएको थियो। आज सन्दीपका कानुन व्यवसायीले जवाफ दिएलगत्तै बहस सकिएको हो।

बहस सकिएपछि न्यायाधीशहरू फैसलाको तयारीमा लागेका छन्। उनीहरू बहसका क्रममा उठेको काठमाडौँको होटलको सीसीटीभी फुटेज हेर्न थालेका छन्।

सरकारी पक्षले लामिछाने र पीडित गौशाला २६ बस्ने भनी पुगेको होटलको सीसीटीभी फुटेज पनि पेस गरेको थियो। उक्त फुटेज हेरेपछि अदालतले फैसला लेख्ने छ।

करिब ३ः३० सम्म बहस नै भएकाले उच्च अदालतले बुधबार नै फैसलाको पूर्णपाठ भने नदिने उच्च अदालत स्रोतले जनाएको छ।न्यायाधीशद्धयले केही संक्षिप्त फैसला लेखेर हाललाई दिने र विस्तृत पूर्णपाठ पछि सार्वजनिक गर्ने छन्।

महत्त्वपूर्ण र सार्वजनिक चर्चा भएका मुद्दाहरूमा अदालतले यही अभ्यास गर्दै आएको छ। हाल ठहर खण्डको केही अंश लेखेर सार्वजनिक गर्ने अनि विस्तृत व्याख्या बिस्तारै गर्ने अभ्यास हुँदै आएको छ।

सर्वोच्च र उच्चले विगतमा पनि यस्तै अभ्यास गरेका छन्। सन्दीपको हकमा पनि यही गर्ने तयारी छ। लामिछानेको मुद्दामा विस्तृत व्याख्या गर्न जिल्लाको फैसलादेखि बहसका क्रममा पेस भएका सबै नजिरहरूको अध्ययन र व्याख्या गर्नुपर्ने भएकाले हाललाई केही आधार र कारण उल्लेख गरेर संक्षिप्त फैसला सुनाइने छ।

उच्चले सफाइ दिने आधार र कारण, ठहर गरेका त्यसको कारण खुलाउने छ। यदि जिल्लाको सदर गरेमा सदर हुने आधार र कारण खुलाउने छ।