प्रतिनिधिसभामा कांग्रेस र एमालेका सांसदबिच धकेलाधकेल,बैठक स्थगित
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नाराबाजी गरेपछि आज पनि प्रतिनिधिसभा बैठक स्थगित भएको छ।
प्रतिनिधिसभा बैठकमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेका आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने र राष्ट्रपति पौडेललाई धन्यवाद ज्ञापन गर्ने कार्यसूची थियो।
तर, विषयमा प्रवेश गर्न नपाउँदै कांग्रेसका सांसदहरूले नाराबाजी गर्दै अवरोध गर्यो। कांग्रेसको अवरोधका बिच सभामुख देवराज घिमिरेले कार्यसूची अगाडि बढाएका थिए।
सभामुख देवराज घिमिरेले शून्य र विशेष समय नराखेर राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाए। त्यसपछि सभामुख घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि एमाले र कांग्रेस सांसदबिच धकेलाधकेल भएको छ।
बैठकमा मुठभेटकै सम्भावना भएपछि सभामुख घिमिरेले बैठक आजका लागि स्थगित गरेको हुन्। अर्को बैठक शुक्रवार बिहान ११ बजेको लागि बोलाइएको छ।