आज ११ बजे संघीय संसदको बैठक बस्दै
काठमाडौं। संघीय संसदको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बिहीबार सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि आज बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो।
प्रतिपक्षको अवरोधकाबिच सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाएका थिए। उनले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेसले बैठक अवरुद्ध गरेको थियो।
आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ। त्यस्तै प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न माननीय सदस्यहरूको मनोनयन गर्नेछन्।
यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने, सभामुखले राष्ट्रपतिलाई धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने लगायतका कार्यसूची तय भएको संसद् सचिवालयले जानकारी दिएको छ।