कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । संघीय संसदको बैठक बस्नुअघि नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ। बैठक बिहान ९ बजे संसद भवनको ल्होत्से हलमा बस्न लागेको हो।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि विहीबार स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न कांग्रेस संसदीय दलको बैठक बस्न लागेको बताइएको छ।
कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ।
तर, छानविन समिति गठन गर्न सत्ता साझेदार दलहरुले मानेका छैनन्। सत्ता पक्ष र प्रतिपक्षको अडान यथावत भएपछि संसदको गतिरोध अन्त्य हुन सकेको छैन।
विहीबार बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरुले रोष्टम घेराउ गर्दै विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका थिए।
सभामुख घिमिरेले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्नका लागि समय दिए पनि कांग्रेसले विरोध जारी राखेपछि लामिछानेले बोल्न पाएका थिएनन्।