पाँच लाख धरौटीमा छुटे रवि ओड

काठमाडौं। वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड रिहा भएका छन् । उनी पाँच लाख धरौटी बुझाएर बिहीबार साँझ रिहा भएको हुन्।

जिल्ला अदालत कञ्चनपुरले बिहीबार उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। अदालतको आदेशअनुसार ५ लाख धरौटी बुझाएर उनी बिहीबार साँझै रिहा भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले जानकारी दिए।

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले गत साता इलाका प्रहरी कार्यालय झलारीमा आफैँ उपस्थित भएर आत्मसमर्पण गरेका थिए।

ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनका श्रीमतीले उजुरी दिएकी थिइन्।