सहकारी ठगीको विषयमा छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक: प्रमुख सचेतक लेखक

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति बनाएर वर्तमान राजनीतिक गतिरोधलाई निकास दिन सकारात्मक रहेको नेपाली कांग्रेसले जनाएको छ।

शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्री प्रचण्डसँगको छलफलबारे जानकारी दिँदै कांग्रेस नेता रमेश लेखकले सहकारी ठगी प्रकरणमा समिति बनाउन प्रधानमन्त्री सकरात्मक रहेको बताएका हुन्।

कांग्रेस प्रमुख सचेतक लेखकले भने, ‘प्रधानमन्त्री छानबिन समिति बनाउनका लागि सकारात्मक हुनुहुन्छ । राजनीतिक गतिरोध चाँडै अन्त्य होस् भन्ने उहाँको पनि चाहना रहेको छ। बैठक करिब आधा घण्टा बसेको थियो।

बैठकमा कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवासहित, पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा र लेखक सहभागी थिए । त्यस्तै, माओवादीबाट जर्नादन शर्मा पनि आजको छलफलमा उपस्थित थिए।

कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै संसद्मा अवरोध गर्दै आएको छ।

कांग्रेसकै अवरोधका कारण बिहीबारको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेन भने शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको थियो।