सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षीबीच संसदीय समिति बनाउने सहमति

काठमाडौं। सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच सहकारी ठगीका विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको छ। यद्यपि उक्त समितिको कार्यादेश के हुने भन्ने विषयमा दलहरु टुंगोमा पुगेका छैनन्।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन र कांग्रेसका नेताहरुबीचको छलफलमा संसदीय समिति गठनका विषयमा समाधान धारणा बनेको कांग्रेस नेता रमेश लेखकले बताए।

‘संसदीय छानबिन समिति बनाएर जाने विषयमा समान धारणा छ, समितिको कार्यादेश के हुने भन्ने विषयमा भोलि विहानदेखि काम हुन्छ’, उनले भने।

संसदीय समितिको कार्यादेश बनाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी र दलहरुका प्रतिनिधि संलग्न कार्यदलले काम गर्नेछ।

सहकारीको वचत रकम अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने संलग्न भएको घटना सार्वजनिक भएको भन्दै कांग्रेसले यस विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको थियो। तर सरकार र सत्ता गठबन्धनले भने यसलाई अस्वीकार गर्दै आएका थिए।

२८ वैशाखमा संघीय संसदको हिउँदे अधिवेशन सुरु भएदेखि नै नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदन लगातार अवरोध गर्दै आएको छ। उसले संसदीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने भनेपछि दलहरुबीच संसदको अवरोध खोल्ने बारेमा छलफल सुरु भएको थियो।