शिक्षामन्त्री सुमना श्रेष्ठलाई प्रश्न, ‘नेपालको शिक्षा गुणस्तरीय छैन ?’
रुषा थापा
सरकार राष्ट्र र जनताको अभिभावक हो । आफ्नो देश र जनतामाथि केही आँच आएमा सरकार खरो भएर उभिनुपर्ने हुन्छ । जनता र राष्ट्रको सुरक्षा, रक्षा गर्नुपर्छ । तर, हाम्रोमा त सरकार देश र जनताको लागि खरो भएर उभिनु त परको कुरा, एउटा कानून र निर्णय समेत गर्न सक्दैन।
अहिले नेपाली विद्यार्थीहरु लाखौं रुपैयाँ खर्चिएर पढ्नको निम्ति अमेरिका, अस्ट्रेलिया, क्यनाडालगायत विकसित मुलुक गइरहेका छन। त्यहाँ पुगेका अधिंकाश नेपाल फर्किँदैनन् । जाने बेला पढ्ने बहाना बनाएपनि उनीहरुको लक्ष्य र उद्देश्य नै त्यहाँको ग्रिन कार्ड पाउनु हुन्छ।
यहाँको नागरिकता त्याग्छन्। अनि त्यहाँको नागरिक बन्छन्। सँगै यहाँ भएको पुख्र्यौली सम्पत्ति पनि बेचेर लैजान्छन्। नागरिकता त्यागेपनि पुख्र्यौली सम्पत्ति चाँहि त्याग्दैनन्। बेचेरै लैजान्छन्। सरकारले पनि नेपाली नागरिकता त्याग्नेले आफ्नो यहाँ भएको पुख्र्यौली सम्पत्ति बेचेर लैजान नपाउने निर्णय गरेको छैन।
यसले गर्दा केही वर्षयता विकसित मुलुक विदेशिएकाहरुले नेपाली नागरिकता त्याग्ने र यहाँ भएको सम्पत्ति पनि बेचेर लैजाने क्रम हवात्तै बढेको छ । त्यसैले, आफ्नो देशको नागरिकता त्याग्नासाथ पुख्र्यौली सम्पत्ति पनि नपाउने र बिक्रीवितरण पनि गर्न नपाउने कानून अब सरकारले बनाउनुपर्छ। त्यस्तो सम्पत्ति राष्ट्रिकरण गरिनुपर्छ।
सरकारले यो कानून नबनाउँदा एकातिर देशका दक्ष, सक्षम नागरिक विदेशिएका छन्, अर्कोतिर मुलुकको सबै पैसा पनि बाहिरिएको छ । नेपालीहरुले यहाँ भएको सम्पत्ति बेचेर लगी त्यहाँ घडेरी किनेको सुनिन्छ । यसरी वर्षेनी खर्बौ रकम अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत विकसित मुलुक गइरहेको छ ।
एक पटक अमेरिका, अस्ट्रेलिया पुगेपछि मानिसहरु नेपाल फर्किदैंनन् । यहाँ त पैसा पठाउँदैनन् नै उल्टै भएको समेत बेचेर लैजान्छन् । त्यहाँको सरकारले पनि आफ्नो देशमा पठाउँछ भनेर त्यँही ऋणमै घरजग्गा, गाडीलगायत विभिन्न वस्तु तथा सामग्री भिडाउँछ । अनि त्यहाँ कमाएको पैसा सबै त्यँही खर्चिनुपर्छ ।
नेपालीहरु अमेरिका, अस्ट्रेलियाको नोकर बनेका छन् । त्यो देशको सरकारले जे भन्छ, त्यहँी गर्छन् । विदेशीलाई धनी बनाइरहेका छन्, नेपालीहरु । अहिले नेपालमा आर्थिक मन्दी छ । अर्थतन्त्र शिथिल बनेको छ । यता, सरकार भन्छ, ‘विदेशी पर्यटकको आगमन बढ्यो ।’ यसले राजस्व वृद्धि भयो ।
तर, सरकारकै तथ्ंयाक हेर्ने हो भने विदेशी पर्यटकको आगमनभन्दा नेपालीहरु अमेरिका, अस्ट्रेलिया बढी विदेशिएका छन्। त्यो पनि मासिक अर्बो खर्चिएर। विदेशी आउँदा राज्यको ढुकुटीमा मासिक करोडको हाराहारीमा राजस्व संकलन हुँदा नेपालीहरु मासिक अर्बो खर्चिएर अमेरिका, अस्ट्रेलियालगायत मुलुक पढ्ने बहानामा गइरहेका छन्।
यद्यपि, सरकार भने पढ्ने नाममा मुलुकबाट वर्षेपिच्छे खर्बो रकम बाहिरिँदा समेत केही गर्न सक्दैन । नेपाली नागरिकता त्यागेर यहाँ भएको पुख्र्यौली सम्पत्ति समेत बेचेर त्यहाँ लैजाँदा पनि सरकार केही गर्न सक्दैन। सरकार आफ्नो देशको दक्ष जनशक्ति र मुद्रा बाहिरिएको रमिते हेरेर बसिरहेको छ। मुलुकभित्र थुप्रै राम्रा÷राम्रा कलेज छन् । अध्ययनका लागि उत्कृष्ट कलेज छन्।
तर, नेपालमा गुणस्तरीय शिक्षा नभएको आरोप लगाउँदै पढ्ने बहानामा सुरुमा लाखौं खर्चिएर अमेरिका, अस्ट्रेलिया विदेशिन्छन् । अहिले कालोधन समेत विदेशमा लगेर राख्ने प्रवृत्ति हवात्तै बढेको छ।
छोराछोरी अमेरिका, अस्ट्रेलिया पठाउने अनि यहाँ भ्रष्टाचार गरेर, राज्सव छलेर आयआर्जनगरेको गैरकानूनी सम्पत्ति त्यहाँ लगेर राखी छोराछोरीले कमाएको दाबी गर्ने गरिएको छ ।
अमेरिका, अस्ट्रेलिया, क्यानडाजस्ता देशहरु अरु मुलुकको दक्ष जनशक्ति र पैसा आफ्नो मुलुक भित्र्याएर विकाससँगै धनी भएका छन् । अरु देशको जनताको रगत, पसिना र पैसा चुसेर आफ्नो देशलाई विकसित र धनी बनाएका छन् । विडम्बना, हाम्राजस्तो मुलुकहरु भने आफ्नो देशको दक्ष, सक्षम जनशक्तिलाई देशभित्र रोक्न सकिरहेका छैनौं ।
देशको नागरिक र पैसा दुवै पलायन भइरहेका छन्। यसतर्फ अझै पनि सरकारको ध्यान गएको छैन । कन्सलट्रेन्सीहरु आफ्नो फाइदाको निम्ति देशको नागरिक र पैसा दुवै विदेश पठाइरहेका छन्।
यसले उनीहरुलाई त फाइदा होला तर समग्र राष्ट्रलाई क्षति पुगेको छ । अहिले कक्षा १२ पास गर्नेबित्तिकै अमेरिका, अस्ट्रेलिया जान्छन्, विद्यार्थीहरु।
किनकि उनीहरुलाई सानैदेखि नेपालमा बसेर केही हुन्न भन्ने भ्रम छरिदिएको छ । आफ्नो स्वार्थको लागि कन्सलट्रेन्सी, दलालीहरुले विद्यार्थीहरुमा यस्तो भ्रम छरिरहेका छन्।
अहिले कक्षा १ देखि १२ सम्म अध्ययन गरिरहेका विद्यार्थीहरुकै मन, मस्ष्तिकमा नेपालमा बसेर केही हुन्न भन्ने भ्रम सिर्जना भएको छ । यसैले, पनि कक्षा १२ पास गर्नेबित्तिकै विद्यार्थीहरु अभिभावकहरुलाई विदेशिने योजना सुनाउँछन् ।
आफ्नो बालबच्चाको सुन्दर भविष्य अनि दलालीहरुको लहैलहैमा लागेर नचाहेर पनि अभिभावकहरु आफ्नो छोराछोरी विदेश पठाउन बाध्य भइरहेका छन् । अर्कोतर्फ, कक्षा १२ पास नगर्नुञ्जेल विद्यार्थीहरुलाई पनि यहाँको सबै कुरा ठिक लाग्छ । शिक्षा, राजनीति, हावापानी सबै ठिक लागेको हुन्छ ।
तर, कक्षा १२ पास गर्नेबित्तिकै साथी वा कन्सलट्रेन्सी, दलालीको लहैलहैमा लागेर आफ्नो देशको शिक्षा, स्वास्थ्य, राजनीति र हावापानीमाथि प्रश्न उठाउँदै लाखौं खर्चिएर पढ्ने बहानामा विदेशिन्छन् । खाडी मुलुक जानेहरु एकदेखि पाँच लाख खर्चिर जान्छन्। मासिक ५० हजारदेखि लाखसम्म नेपाल पठाउँछन्। त्यो पैसाले उसको परिवार धान्छ अनि राज्यलाई पनि रेमिट्यान्स आउँछ।
यता, विकसित मुलुक जान सुरुमै २० देखि ३० लाखसम्म खर्चिछन्, नेपालीहरु । कतिपय त करोडौं खर्चिएर समेत गएका छन् । त्यहाँ पुगेर पनि उनीहरुले यहाँ पैसा पठाउदैनन्।
उल्टै त्यहाँ सेटल हुन्छन् । अनि यहाँको नेपाली नागरिकता त्यागेर पुख्र्यौली सम्पत्ति समेत बेचेर उतै लैजान्छन्। खाडी मुलुक गएकाहरु त्यहाँ कमाएकोले पैसाले नेपालमा घरजग्गा किनिरहेका छन् ।
तर, विकसित मुलुक गएकाहरु नेपालमा भएको पुख्र्यौली सम्पत्ति समेत बेचेर लगिरहेका छन् । नेपाली नागरिकता त्यागेपछि त्यो व्यक्ति नेपाली हुँदैन । त्यसैले, अब सरकारले नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिनेलाई नेपालमा भएको आफ्नो सम्पत्ति लैजान दिनुहुन्न । नागरिकता त्यागेपछि उसले कसरी नेपालमा भएको आफ्नो सम्पत्तिको हकदाबी गर्न पाउँछ ?
अब सांसदहरुले छिटोभन्दा छिटो विदेशी नागरिकता लिने नेपालीले नेपालमा भएको आफ्नो सम्पत्ति नपाउने कानून बनाउनुपर्छ । पढ्ने नाममा मुलुकबाट वर्षेनी खर्बौ रकम बाहिरिएको छ । अहिले मुलुकमा आर्थिक मन्दी वा संकट आउनुको विविध कारणमध्ये यो प्रमुख हो । यता, राष्ट्र बैंक अर्थतन्त्र कसरी गम्भीर अवस्थामा पुग्यो ? कसरी बजारमा आर्थिक मन्दी आयो ? भनेर अध्ययन गर्दैन ।
अहिले पैसा जति सबै पढ्ने नामम विदेशिएको छ । बाँकी भएको पनि घरजग्गा, गाडी र सेयरमा फ्रिज हुन पुगेको छ । राष्ट्र बैंक भने घरजग्गा र गाडीमा बैंक तथा वित्तिय संस्थाको कर्जा प्रवाह बढाइरहेको छ । सरकारको जग्गाको कित्ताकाट फुकुवा गर्यो । तर, घरजग्गाको कारोबार बढेन।
सेयरमा लगाइएको १२ करोडको सीमा हटाइयो। सवारीसाधन कर्जा पनि बढाइयो । यद्यपि, यति गर्दा समेत सेयर र गाडी समेत कारोबार बढेन। किनकि पैसा जति सबै पढ्ने बहानामा विदेशिएको छ। अब शिक्षा मन्त्रालयले यो रोक्नपर्छ। शिक्षामन्त्री सुमना श्रेष्ठले कि त देशको शिक्षा गुणस्तरीय छैन भनेर भन्नुपर्छ नभए विद्यार्थीहरुलाई विदेशिनबाट रोक्नुपर्छ।
अहिले नेपाली विद्यार्थीहरु पढ्नको निम्ति धमाधम विदेशिँदा मुलुककै शैक्षिक गुणस्तरमाथि प्रश्न उठेको छ। मुलुकका ठुल्ठुल्ला कलेज, विश्वविद्यालयहरु बन्द हुनुपर्ने अवस्थामा पुगेका छन्। अनि नेपाली विद्यार्थीहरु चाँहि लाखौं खर्चिएर पढ्नेको निम्ति विदेशिरहेका छन् । अब शिक्षामन्त्री सुमना श्रेष्ठले जवाफ दिनैपर्छ, के देशको शिक्षा निकै कमजोर हो ?