संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै
काठमाडौं। सहकारी छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज बस्दै छ। आज बिहान ९ बजेदेखि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यदलको बैठक बस्न लागेको हो।
गत शनिबार बसेको शीर्ष नेताहरूको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुंगो लगाउन चार सदस्यीय कार्यदल गठन गरेको थियो।
कार्यदलको संयोजकमा कानुनमन्त्रीसमेत रहेका नेकपा एमालेका नेता पदम गिरी छन्। सदस्यहरूमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल छन्।
संसदीय छानबिन समितिको कार्यादेशका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिल्न सकेको छैन। नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गरी उनी मुछिएको सहकारी संस्थामा पनि छानबिन गर्नुपर्ने अडानमा छ भने एमाले र रास्वपा त्यो कुरामा सहमत छैनन्।
कार्यदलमा आइतबार पटक–पटक गरी सात घण्टाभन्दा बढी समय छलफल भए पनि सहमति जुटेको थिएन। यही विवादका कारण संसदीय छानबिन समिति गठन पनि अनिश्चित बनेको छ भने संसदको गतिरोध पनि अन्त्य हुन सकेको छैन।