युवा कवि उपेन्द्र त्रिपाठीको अक्करे भिरको बाटो हिडेपछि कविता संग्रह सार्वजनिक
प्रेम प्रसाद कडेल
चितवन। युवा कवि उपेन्द्र त्रिपाठीको अक्करे भिरको बाटो हिडेपछि कविता संग्रहको पानोरमा पार्टी प्यालेस तेह्रसाल चोक कृष्णपुरमा एक कार्यक्रमका बीच सार्वजनिकिकरण कार्यक्रम सम्पन्न भएको छ।
अक्षर समुहको आयोजनामा समुहका अध्यक्ष गजलकार रमेश प्रभातको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उद्घोषण सचिव लेखराम सापकोटाले गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि बुद्धचोक टोल विकास संस्थाका अध्यक्ष कुश्माखर अधिकारीले बोल्दै कवि उपेन्द्र त्रिपाठीको अक्करे भिरको बाटो हिडेपछि पछि कविता संग्रह पढ्न पाउँदा खुशी लागेको र साहित्यीक जीवन सफल हुनेमा विश्वस्त रहेको बताए।
कार्यक्रममा विशिष्ट अतिथि आमा उमादेवी त्रिपाठी छोराको कृति विमोचित गर्न खुशीले गद्गद् थिइन्। कार्यक्रममा उपेन्द्र त्रिपाठीको पूर्व विद्यार्थीहरुको बाक्लो उपस्थितिले उनको व्यक्तित्व र कृवित्वको परिचय दिइरहेको थियो।
कवि त्रिपाठीको बारेमा मन्तव्य राख्दै विद्यार्थी सचिता ढुंगानाले कविताबाटै वर्णन गर्दा हल पुरै भावविह्वल भएको दृश्य देख्न सकिन्थ्यो। कार्यक्रममा उपस्थीत सबै सबैमा स्वागत मन्तव्य राख्दै बेटर चितवनका अध्यक्ष सागर कार्कीले उपेन्द्र त्रिपाठी सरको सरल व्यक्तित्वको बारेमा आफू प्रभावित भएकाले सरको कृति पढ्न पाउँदा खुशी लागेको विचार व्यक्त गरे।
कार्यक्रममा बोल्दै अतिथि शिक्षक एवम् रेडक्रसकर्मी शारदा पौडेलले उपेन्द्र त्रिपाठीको अक्करे भिरको बाटो हिडेपछि कविता संग्रह विमोचनमा उपस्थित हुन पाउँदा गौरवान्वित भएको र उनी एक कुशल शिक्षक मात्र नभइ अब कविको रुपमा परिचित भएकोमा उनको उज्ववल भविष्यको शुभकामना व्यक्त गरे।
कार्यक्रम अतिथि आगो लिएर गाँउ गाँउमा कविता संग्रहका लेखक कवि गणेश श्रवणले कविता संग्रहको समिक्षा गर्दै उपेन्द्र त्रिपाठी देवकोटा अध्ययन केन्द्रमा पञ्चायत कालमै जोडिएर कविता लेखेको स्मरणसहित बहु आयामिक विषयमा यथार्थवादी दृष्टिकोणको कविता लेख्ने कालजयी कवि भएको बताए।
त्यस्तै युगीन युवा कवि उपन्यासकार भूपिन खड्काले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै नेपाली साहित्यीक आकाशमा कवि गोपालप्रसाद रिमाल र भूपि शेरचनको प्रतिनिधि कविको रुपमा मुखरित हुनेगरी कविता संग्रहमा दुःख, अभाव, बिछोड, परिवार, प्रेम र सम्बन्धका बारेमा व्यक्त भएका यथार्थ चित्रणसहित सरलतामा गहनता नै कवि उपेन्द्र त्रिपाठीको कविताको मूल धार भएको विचार व्यक्त गरे।
कोही समाजसँग, कोही सत्ताको खेलोफड्कोमा लडेका कोही रोग र शोकसँग लडेको जीवनको भोगाइ र बुझाइको अभिलेख आफ्नो कविता संग्रह भएको बताउदैं कवि उपेन्द्र त्रिपाठीले उपस्थित सबै सबै साहित्य अनुरागीहरुमा आभार व्यक्त गरे।
कार्यक्रम समापन मन्तव्य राख्दै गजलकार रमेश प्रभातले आफ्नो सहपाठी साथी उपेन्द्रको साहित्य यात्रा सफल भएको र अझै शिखरमा पुग्नेछ भन्दै कार्यक्रममा उपस्थीत सबै सबैमा आभारसहित धन्यवाद ज्ञापन गरे।
कार्यक्रममा चितवन नवलपरासीका प्रबुद्ध साहित्यीक संस्थामा आबद्ध साहित्यकारहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको प्रमुख व्यवस्थापन कविता संग्रहको कभर डिजाइनर कवि उपेन्द्र त्रिपाठीको पूर्व विद्यार्थी सागर कार्कीले गरेका थिए।
कार्यक्रममा कवि उपेन्द्र त्रिपाठीको पूर्व विद्यार्थीहरुको बाक्लो उपस्थितिले उनको शैक्षिक सफलताको समेत झल्को दिएको थियो। प्रकाशक अमेरिकामा बसोबास गर्ने डा.सञ्जय पौडेल रहेको कविता संग्रहमा ५९ कविता रहेको र पुस्तकको मूल्य २५० रुपैयाँ रहेको छ।
कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरु समिक्षकद्वय भूपिन खड्का र गणेश श्रवणलाई मायाको समेत चिनो प्रदान गरिएको थियो।