काँग्रेस र रविको लडाइँ उग्रहुँदै, झुक्दै नझुकी रविलाई सिध्याउने मुडमा काँग्रेस

काठमाडौं । नेपली काँग्रेसले सहकारी प्रकरणको विषयमा संसद अवरोध गरेको महिनौ भइसक्यो। सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको समेत संलग्न रहेको भन्दै काँग्रेसले राजीनामा पनि माग गरिरहेको छ।

पछिल्लो समय काँग्रेसले संसदमा मात्रै नभइ सडकमा पनि आन्दोलन थालेको छ। पूर्व उद्घोषित कार्यक्रम अनुसार नै काँग्रेसले आइतबारबाट सडक आन्दोलन थालेको हो।

काँग्रेसले केही दिन अघि सहकारीको रकम अपचलन गरेको आरोप लागेका गृहमन्त्री रवि लामिछानेसहित संलग्न सबैलाई कारवाही गर्न दवाव दिने भन्दै आन्दोलनको घोषणा गरेको थियो।

सोही घोषणा अनुसार काँग्रेसले पहिलो चरणमा काठमाडौँ उपत्यकामा विरोध को कार्यक्रम थालेको हो । आन्दोलनका लागि काँग्रेसले १५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय समितिबाट प्रतिनिधि खटाएको छ।

काठमाडौँको प्रदर्शनी मार्गमा दिउँसो भएको विरोध कार्यक्रममा काठमाडौँ, ललितपुर र भक्तपुरका सबै निर्वाचन क्षेत्रका क्षेत्रीय समिति, भातृ संस्था र शुभेच्छुक संस्थाहरूको तर्फबाट उपस्थिति थियो।

खासगरी सरकारले गृहमन्त्रीसहित अन्य सहकारी ठगलाई पनि संरक्षण गरेको कारण सडकमा आउनुपरेको काँग्रेसको भनाइ छ। त्यस्तै संसद्भित्र सत्तापक्षका नेताहरूले धम्कीपूर्ण अभिव्यक्ति र असंसदीय व्यवहार गरेको भन्दै आन्दोलन थालेको काँग्रेसले जनाएको छ।

सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले पनि शुक्रबारबाट काठमाडौंमा प्रदर्शन गरिरहेको छ। उनीहरुले प्रदर्शनसहित गृहमन्त्री रवि लामिछानेको तस्बीर अंकित व्यानर राखेरै रिले अनशन समेत गरिरहेका छन्।

सरकारले पटक पटक सहकारी समस्या समाधान गर्ने सम्झौता गरे पनि कार्यान्वनय नगरेका कारण आफूहरु आन्दोलनमा उत्रनु परेको पीडितहरुले बताएका छन्।

सहकारी प्रकरणमा नेपाली काँग्रेसको लगातार विरोध र प्रदर्शनका कारण सरकार संसदीय छानविन समिति बनाउनेमा तयार भयो । तर उक्त समितिको कार्यादेशबारे सहमति हुन सकेको छैन।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस व्यक्ति नै तोकेर समिति बनाउने पक्षमा उभिँदा सत्ता पक्षले भने समग्र सहकारीको विषयमा छानविन गर्नुपर्ने अडान राख्दै आइरहेको छ।

यसविषयमा दलहरुबीच पटक पटक छलफल बस्यो। तर समितिको सीमा निर्धारण हुन सकेको छैन। अहिले कार्यादेशबारे टुंगो लगाउने जिम्मा शीर्ष नेताहरुलाई दिइएको छ।

यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि सहमतिका लागि सक्रियता बढाएका छन्। तरपनि सहमतिको संभावना अझै देखिएको छैन। आइतबार विहान प्रधानमन्त्री प्रचण्ड देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका थिए।

भेटमा प्रधानमन्त्री प्रचण्डले सहकारी समस्या समाधान र संसद्को गतिरोध अन्त्य गर्नेबारे छलफल गरेका थिए। जसक्रममा छानविन समितिमा गोरखा मिडिया नेटवर्कको नाम उल्लेख गरेपनि व्यक्तिको नाम नै तोक्नु नपर्ने भनाइ राखेका थिए।

तर देउवाले प्रचण्डको उक्त प्रस्तावलाई अस्वीकार गर्दै रवि लामिछानेको नाम राख्नैपर्ने जवाफ दिएपछि दुई नेताकोको छलफल निश्कर्षविहिन टुंगियो। यो सँगै संसदीय छानविन समितिमा रविमाथि अनुसन्धान गर्नुपर्ने विषयलाई काँग्रेसले अझ सशक्त सशक्त बनाउने संकेत गरेको छ।

संसद र सडकमा पनि आन्दोलन गरिरहेको काँग्रेसले रविलाई त्यसै छोड्ने अवस्था देखिँदैन। उता गृहमन्त्री रविले भने आफू सहकारी प्रकरणमा निर्दोष रहेको दावी गर्दै आइरहेका छन्।

यस घटनाको मुख्य कारक जिबी राई नै भएको बताउँदै उनले राईलाई कसैगरी पक्राउ गर्ने उद्घोष गरिरहेका छन्। तर प्रहरी अनुसन्धानमा भने बुटवलको सुप्रिम सहकारी र पोखराको सुर्यदर्शन सहकारीबाट रविको खातामा रकम गाएको पाइएको थियो। यद्यपि प्रहरीले रविमाथि भने अनुसन्धान गर्न आवश्यक ठानेको थिएन।

आफूमाथि लागेका सबै आरोपको कारण जिबी राई नै हुन भन्ने निश्कर्ष निकाल्दा पनि गृहमन्त्री रविले जिबी पक्राउ गर्न गर्न सकिरहेका छैनन्। जसका कारणा पनि नेपाली काँग्रेसले रविलाई संसद र सडकबाटै चुनौति दिइरहेको हो।