सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

जनकपुर। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न सोमबार प्रहरीलाई अनुमति दिएको छ। कान्तिपुर अध्यक्ष सिरोहियालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

न्यायाधीश यदुराज शर्माको इजलासले सिरोहियामाथि लागेको आरोपको अनुसन्धान गर्न बुधबारसम्मका लागि हिरासतमा राख्न अनुमति दिएको हो।

सिरोहियाको नागरिकतामा जन्ममिति खुलाएर गरिएको हस्ताक्षरको फरेन्सिक परीक्षणका लागि पठाइएकोमा रिपोर्ट आउन बाँकी रहेको भन्दै प्रहरीले म्याद थपको अनुमति मागेको थियो।

सिरोहियाका नाममा जारी नागरिकता नम्बर अर्का व्यक्तिसँग मिलेको भन्दै रास्वपाका मधेस प्रदेश सदस्य इन्द्रजितप्रसाद महतोले धनुषा प्रहरीमा जाहेरी दिएका थिए।

त्यसकै आधारमा आएको प्रहरीले सिरोहियालाई गत मंगलबार थापाथलीस्थित कान्तिपुर मुख्यालयको कार्यकक्षबाटै पक्राउ गरी धनुषा ल्याएको थियो।अर्को दिन बुधबार जिल्ला अदालत धनुषाले सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

तोकिएको अवधिमा अनुसन्धान नसकिएको भन्दै प्रहरीले शुक्रबार सरकारी वकिल कार्यालयमार्फत थप ५ दिन हिरासतमा राख्ने अनुमति मागेकामा अदालतले आइतबारसम्मको म्याद दिएको थियो। सिरोहियामाथि अनुसन्धानका लागि सोमबार फेरि थप तीनको म्याद थपिएको हो।